क्षेत्रीय संसदको चुनावमा पृथकतावादी पार्टीको जित


विविसि/ क्याटलान पृथकतावादी पार्टीहरुले नयाँ क्षेत्रीय संसदको चुनावमा धेरैजसो सिटहरु जितेका छन् जसका कारण स्पेनको केन्द्र सरकारसँग थप मुठभेडको अवस्था आउनसक्ने आंकलन गरिएको छ।

यद्यपी उक्त चुनावमा सिटिजन्स पार्टी सबैभन्दा ठूलो पार्टी बनेको छ जो क्याटलोनिया स्पेनको अर्ध स्वायत्त क्षेत्र होस् भन्ने चाहन्छ।

मड्रिड सरकारले क्याटलोनियाको स्वायत्तालाई खोस्दै अक्टोबरमा भएको स्वतन्त्रतासम्बन्धी जनमत संग्रहलाई गैर संवैधनिक घोषणा गरेर चुनावको आह्वान गरेको थियो।

चुनावमा ८० प्रतिशत भन्दा बढी मतदान भएको छ जुन क्याटलोनियाको क्षेत्रीय चुनावमा अहिलेसम्मकै बढी हो।

अभियोग

क्याटलन पृथकतावादी नेता कार्लस पुज्डमोनले स्वतन्त्रता समर्थक पार्टीहरु चुनावमा विजयी भएको बताएका छन्।

ब्रसल्समा आफैँ निर्वासनमा बसिरहेका नेता पुज्डमोनले यो चुनावमा क्याटलान नागरिकहरुले जित भएको र स्पेन सरकारको हार भएको बताए।

पुज्डमोनले चुनाव क्याटलान रिपब्लिकले जितेको भन्दै कसैले पनि यो मतपरिणामलाइ विवादास्पद भन्न नसक्ने बताएका छन्।

स्पेनका अभियोजनकर्ताहरुले उनीमाथि देशद्रोहको अभियोग लगाएका छन्।

धक्का

कुल १३५ सिटमध्ये सिटिजन्स पार्टीले २५ प्रतिशत भोट ल्याउँदै ३६ वटा सिटहरु जितेको छ।

उक्त पार्टीकी नेतृ इनिस अरिमाडसले बीबीसीसँग बोल्दै आफ्नो पार्टी विजयी भएको बताइन्।

उनले गठबन्धन बनाउन कठिन हुने तर आफूहरु त्यसका लागि प्रयास गर्ने बताइन्।

मत परिणामले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयलाई महत्वपूर्ण धक्का दिएको छ।

यसअघिको क्याटलान संसदमा हाबी रहेका पृथकतावादी नेताहरुले स्वतन्त्रतासम्बन्धी जनमतसंग्रहपछि अक्टोबर २७ तारिखमा क्याटलोनिया स्वतन्त्र भएको घोषणा गरेका थिए। साभार : विविसि