गोर्खाको लिगलिग कोटलाई रानाभाट समाजको सहयोग


पोखरा । गोर्खाको लिगलिग कोट बिकासमा रानाभाट तथा भाट समाज नेपालले एक लाख रुपैया आर्थिक सहयोग गर्ने भएको छ ।

गोर्खा जिल्लाको ऐतिहासिक लिगलिगकोटमा सोमबार आयोजना भएको भाट समाज नेपाल गोर्खा जिल्ला कार्य समितिको साधारण सभामा पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष श्रीबहादुर रानाभाटले भाट समाज गोर्खा जिल्ला समितिसंग मिलेर एकलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका हुन् ।

लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले उक्त पैसाले भाट समाज आफैले लिगलिग कोटमा केही उदाहरणीय काम गर्नुपर्ने धारणा राखेका थिए ।

कुनै पनि जातीय संगठनले आर्थिक सहयोग गरेको यो सम्भवत पहिलो हो । ५०० बर्ष पहिला लिगलिग कोटमा राजा छान्न हरेक बर्ष खुला दौडको प्रतियोगिता आयोजना गरिन्थ्यो । दौडमा प्रथम हुने त्यस देशको राजा हुन्थ्यो । तर जब बंशिय द्रव्य शाह लिगलिगकोटको राजा भए त्यस पछी दौड प्रतियोगिता बन्द भयोे ।

लिगलिगकोटमा बिगत ८ बर्ष देखि दौड प्रतियोगिता आयोजना हुँदै आएको छ । यस बर्षको दौडमा डोटीका नेपाली सेनामा कार्यरत खगेन्द्र बहादुर भाटले आठौं लिगलिगकोट दौड जितेका थिए । रानाभाटको सम्मान स्वरुप पनि समाजले केही देखिने काम गर्नु पर्छ भनेर सहयोग गरिएको अध्यक्ष रानाभाटले बताए ।

अहिले लिगलिग कोटको ऐतिहासिक महत्व बढ्दै गएको छ । कोटको संरक्षण गर्न पुर्न निर्माणका काम भइ रहेको देख्न सकिन्छ । मोटर बाटो गेटमा पुगेको छ । सिंडी बाटो निर्माण गरिएको छ । महिला पुरुषको लागि छुट्टाछुट्टै शौचालय बनाइएको छ । एकैपटक १० स्थानमा बनभोज खान सकिने र पानीको सुबिधा भएको साथै एक स्थानबाट हिमाली दृश्य देख्न सकिने भएकोले अहिले विभिन्न स्थानबाट पिकनिक खान आउनेको संख्या ह्वात्तै बढेको अध्यक्ष पुर्णबहादुर राना बताउँछन् ।