गण्डकी हाईटेकमा टोपी दिवस, राष्ट्रियताको पहिचान टोपी


पोखरा । सोमबार जनवरी १ पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले राष्ट्रियताको पहिचान टोपी भएको धारणा व्यक्त गरेका छन् । गण्डकी हाई–टेक प्रा.लि. बगरको आयोजनामा पोखरेली अभियन्ताले अन्तर्राष्ट्रिय टोपी दिवस मनाएका हुन् । कार्यक्रमका वक्ताले टोपी शीरको शान मात्र नभएर नेपालीको पहिचान भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका नेपाली विभागका प्रमुख सह–प्राध्यापक कृष्णप्रसाद पौडेलले टोपीमा राष्ट्रियताको सवाल जोडिएको बताउँदै राष्ट्रियता जोगाउन टोपी लगाउन अपील गरे । अथिथि पौडेलले सरकारी कार्यालयमा टोपी लगाउन अनिवार्य गर्नुपर्ने र राजनीतिक दलका नेताले स्वतःस्फुर्त टोपी लगाइदिए यसको गरिमा र महिमाले उचाई धारण विचार व्यक्त गरे ।

अग्रज साहित्यकार सूर्यबहादुर खड्का बिखर्र्चीले टोपी प्रेमको प्रतीक भएको र विश्वमा नेपालीको पहिचान दिलाउन सगरमाथाको जस्तै टोपीको पनि उत्तिकै उचाई रहेको बताए ।

जनसांस्कृतिक महासंघ प्रदेश नं. ४ का संयोजक मदन भण्डारीले देशमा आएको परिवर्तन सँगसँगै नेपालका राष्ट्रिय पहिचानका कुरा हराउँदै गएकाले टोपी टेको मात्र नभएर राष्ट्रियता र स्वाभिमानको पहिचान भएको बताए ।

अन्तर्राष्ट्रिय साहित्य समाज गण्डकीका अध्यक्ष दुर्गाबहादुर शाह बाबाले टोपीले गर्वानुभूति दिलाउनुका साथै यसले नेपालीको पहिचान झल्कने बताए । उनले टोपीले चिसोबाट बचाएर स्वस्थ बनाउने, अनुशासित बनाउने र टोपी लगाएपछि अनुहारमा पनि उज्यालो आउने अनुभूति सुनाए ।

दरबारथोेक एड्भरटाइजिङ एजेन्सीका प्रबन्धक कृष्ण रानाभाट सारथिले विदेश भ्रमण जाँदा गोजीमा टोपी लिएर गएको स्मरण गर्दै टोपी लगाउँदा सम्मान गरेको अनुभव सुनाए । समाजसेवी तिलकबहादुर केसीले टोपी नलगाउनेले राष्ट्रियताको कुरा गरेको अर्थ नरहने बताए ।

पोखरेली अभियन्ता प्राञ्जलले नेपाली संस्कृति विदेशीको थिचोमिचोमा परेको बताए । टोपीले फरक अनुभूति दिने र गर्वानुभूति गराउने भएकाले टोपी नेपालीको अस्तित्व भएको बताए । कार्यक्रममा गोपाल योञ्जनको ‘यो मेरो टोपी’ गीतको भिडियो प्ले गरेर उद्घाटन गरिएको थियो । अर्का अभियन्ता असफल गौतमले आगामी वर्षदेखि टोपी दिवसलाई थप बृहत् बनाउने र प्याब्सन, एनप्याब्सान अन्तर्गतका विद्यालयसँग सहकार्य गर्ने बताए ।

कार्यक्रममा संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँले, विकास लुँगेली, ऋषभ फिल्म प्रोडक्सनका प्रबन्धक एन.जे. सागर शाह, गीतकार सुमान श्रापित, साहित्यकार भरत पोखरेल अन्जान, माधव शर्मा, दीपेन्द्र शर्मा, सञ्चारकर्मी सन्देश श्रेष्ठ, गौरव त्रिपाठीलगायतले आ आफ्नो मन्तव्य र रचनावाचन गरेका थिए ।

औपचारिक कार्यक्रमसँगसँगै प्रालिले अनौपचारिक रूपमा दिनभर कार्यालयमा आउनेलाई टोपी वितरण गर्दै अनुभूति साटासाट गरेर दिवस मनाएको थियो । कार्यक्रममा सविना खड्का, राधा कुमाल, प्रतिक्षा भुर्तेल, प्रतिभा गुरुङ, अर्जुन पौडेल, सिर्जना सापकोटा, सावित्री सापकोटा, मिरा लम्साललगायतले टोपी दिवसका बारेमा आफ्नो विचार राखेका थिए ।