नेपाली पाठशाला बार्सिलोनाले चौथो बार्षिकोत्सव मनाउदै


फाईल तस्बिर

बार्सिलोना/ नेपाली पाठशाला बार्सिलोनाले चौथो बार्षिकोत्सव मनाएको भएको छ। विदेशमा रहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा पढ्न र लेख्न सिकाउँदै आएको पाठशालाले सरस्वतीको पूजा आराधाना गर्दै बार्षिकोत्सव मनाउन लागेको हो।

कार्यक्रममा पाठशालामा अध्ययनरत बिद्यार्थीहरु,अभिभावक तथा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरु लगायत नेपाली समुदायको उपस्थिति रहने अपेक्षा गरिएको छ।

पाठशाला संयोजक सरला सापकोटाले नेपाली सुमदायसँग भलाकुसारी,आत्मीय साटासाट,सुझाव र मार्गदर्शनको प्रतिक्षा सहित जनवरी २० तारिख कार्यक्रमको आयोजना गरेको बताईन्।कार्यक्रममा बालबालिकाहरुले आफ्नो प्रस्तुति समेत राख्ने भएका छन्।

कसरी सुरु भयो नेपाली पाठशाला बार्सिलोना ?

स्पेनको नेपाली समुदायमा एनआरएनले सन् २००९ मा नै नेपाली पाठशाला स्थापना गर्ने पहल गरे पनि नियमित कक्षा संचालन हुन सकेन । तर सन् २०१४ को जनवरी ४ तारिखमा आएर केहि महिला अभिभावकहरुको सक्रियतामा नेपाली पाठशाला बार्सिलोनाको स्थापना भयो । पाँच जना बालबालिकाहरुलाई घरमा नै पढाउँन सुरु गरेर स्थापना भएको पाठशालाले स्पेनको समुदायमा राम्रो छाँप छोड्न सफल भयो ।

सन् २०१६ मा पाठशाला ब्यबस्थापन समिति नै गठन भई संचालित भए पछि यसले झनै ठुलो आकार लिदै गएको छ । उमेर र स्तर अनुसार फरक तीन कक्षामा हाल ३० जना नेपाली बालबालिकाहरुले नेपाली भाषा सिक्दै आएका छन् । नेपाली पाठशाला बार्सिलोनाले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरेको छ।

 

  • कार्यक्रम बारे पूर्ण बिबरण :-

 

  • मिति:– २० जनवरी शनिबार
  • स्थान:- एनआरएनए स्पेनको कार्यालय
  • समय:– ४;३० देखि राति ८ बजे सम्म