काँग्रेसले जनताको मतको उपेक्षा गर्‍यो : पृथ्वीसुब्बा


पोखरा –  नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले जनमतको आधारमा सत्ता हस्तान्रतण गर्नुपर्नेमा सत्ता लम्ब्याउन संविधानको अपब्याख्या गरिएको बताएका छन् । नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघ कास्कीले पोखरामा आयोजना गरेको ल्होसार, नेपाल संवत, उद्यौली, माघी, माघेशक्रान्ति लगायत साँस्कृतिक पर्वहरुको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै लोकतान्त्रिका पार्टीको नारा लगाउने काँग्रेसले जनताको मतको उपेक्षा गरेको बताए ।

उनले प्रतिनिधि र प्रदेश सभामा दुई तिहाई देखेपछि राष्ट्रिय सभा देखाउदै प्रतिनिधि सभा मतगणना सम्पन्न भएपनि समानुपातिकको परिणाम घोषणा नगरेको आरोप लगाए । राष्ट्रिय सभा र प्रतिनिधि सभा गठन वीच कुनै सम्वन्ध र साइनो नभएको बताउदै नेता गुरुङले भने –‘राष्टिय र प्रतिनिधि सभा वीच कुनै साइने छैन, तर संविधानको प्रावधान विपरित सरकार गठन हुन दिइएको छैन, यो षडयन्त्र हो ।’ बाम सरकार गठनका लागी काँग्रेसले रोक्न नसक्ने बताउदै जनताको मतलाई बुझन आग्रह समेत गरे ।

उनले एमाले र माओबादी केन्द्र वीच पार्टी एकताका लागी पार्टी अध्यक्ष केपी ओली आएपछि अर्को कार्यदल बन्ने र त्यसले एकताको सम्वन्धमा काम अगाडी बढाउने जानकारी दिए । ‘अहिले बनेको कार्यदल सरकार निर्माण, राष्ट्रिय सभा सदस्य छान्ने लगायतका विषयमा सुझाव दिन बनेको हो, अव पार्टी अध्यक्ष आएपछि एकतासंग सम्वन्धित काम गर्न अर्को कार्यदल बन्छ ।’गुरुङले एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको एकता कसैले रोक्न नसक्ने दावी समेत गरे । उनले पार्टी एकताका लागि प्रधानमन्त्री को हुने वा को अध्यक्ष हुने भन्ने विषय भन्दा पनि एउटै कम्यूनिष्ट केन्द्र निर्माण गर्नु प्रमुख विषय भएको बताए ।

पद वा पोजिसन भन्दा नयाँ पार्टीको बिचार, सिद्धान्त, संगठन प्रष्ट हुनुपर्ने र त्यसमा दुबै पक्षको सहमति हुन आवश्यक रहेको उनको भनाई थियो ।उनले पार्टी एकताका विषयमा सामाजिक सञ्जाल र सार्वजनीक ठाँउमा आफना विचार ब्यक्त नगर्न समेत पार्टी नेता तथा कार्यकतालाई निर्देशन दिए । ब्यत्तिगत रुपमा गरिने टिकाटिप्पणीले पार्टी एकतामा बल पुग्दैन, त्यसैले पार्टी नेतृत्वका विषयमा टिकाटिप्णी गर्नेकाम कसैले नगर्नुस उनले भने । कार्यक्रममा कास्कीबाट निवाचित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई फेटा लगाएर सम्मान समेत गरिएको थियो । नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघ कास्कीका अध्यक्ष दलबहादुर गुरुङको अध्यक्षतामा भएको थियो भने स्वागत उपाध्यक्ष मिना गुरुङ र संचालन सचिव चेतबहादुर गुरुङले गरेका थिए ।