कास्की जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन सक्षम नेतृत्वको खाँचो


पोखरा –  ऋणले चुर्लुम्म डुबेर निस्क्रिय हालतमा रहेको कास्की जिल्ला फुटबल संघलाई क्रियाशील बनाउन अब सक्षम नेतृत्वको विकल्प नभएकोमा सरोकारवालाले जोड दिएका छन् । नियमित गतिविधि गर्न नसकेको, मुलुककै प्रतिष्ठित पोखरा कप फुटबल प्रतियोगिता निरन्तरता दिन नसकेको, ऋणका कारण बदनाम हुन पुगेको संस्थालाई पुरानै अवस्थामा फर्काउन ढिलाई गरे कास्कीको फुटबल खेलको छाता संस्था नै नरहने चिन्ता व्यक्त गरियो ।

नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीले  ‘कास्कीको फुटबल विकासमा हाम्रो भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरी एन्फा कास्कीका पदाधिकारीदेखि पूर्व अध्यक्ष, क्षेत्र, जिल्लाका खेल सम्बन्धित व्यक्तित्व, आबद्ध क्लबका प्रतिनिधिलाई उपस्थित गराई समस्या समाधानार्थ पहल गरेको हो ।

एन्फा कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका संघका क्षेत्रीय अध्यक्ष खेमबहादुर गुरुङले आफ्नो नेतृत्वको टीमले ठूलो परिश्रमका साथ संघलाई निकै माथि ल्याएको स्मरण गर्दै अहिले संघ नै नाममात्रको रहँदा चिन्तित बनाएको उल्लेख गरे । ‘८ लाखको अक्षयकोष स्थापना गरियो । खेलाडी, खेल पत्रकार सम्मानदेखि पोखरा कप जस्ता प्रतियोगिता आयोजना हुन्थ्पयो ।’ गुरुङले भने– ‘अहिले रुकुम रोल्पातिर फुटबल प्रतियोगिताहरु हुन्छन्, कास्की जस्तो संघ कहाँ पुग्यो ? आर्थिक पारदर्शिता खै ? ऋणमा संघ कसरी डुब्यो ?’ कास्कीमा २४ क्लब एन्फा कास्की अन्तर्गत भएपनि ६ वटाले लिग नखेलेका कारण १८ क्लबसँग मताधिकार रहेको छ ।

एन्फा कास्कीका अध्यक्ष धरम लामिछानेको अनुपस्थितिमा संघको प्रतिनिधित्व गर्दै सहभागी उपाध्यक्ष मिलन गुरुङले निर्वाचित पदाधिकारीहरुले समस्यादेखि डराएर भागेपनि आफूले यहाँसम्म संघलाई ल्याएको जिकिर गर्दै ऋण मुक्त बनाएर अधिवेशन गर्ने प्रतिबद्धता जनाए । ‘संस्थामा पद खान तछाँडमछाड गर्ने अनि जब घाटा हुन्छ, ऋण लाग्छ राजिनामा दिएर भाग्ने ? ’ गुरुङले भने – ‘म भाग्ने भएको भए अहिले म आउँथिन । जिम्मेवार व्यक्ति हुँ । ऋण तिरिन्छ। ’ २०७० सालको अधिवेशनमा निर्विरोध अध्यक्ष भएका गोपीबहादुर भट्टराई, निर्वाचित महत्वपूर्ण पदाधिकारीहरु महासचिव राजन पौडेल, सचिव ओम बस्नेत, कोषाध्यक्ष शुक गुरुङले राजिनामा दिएपछि एन्फा कास्कीले विशेष अधिवेशन पनि नगरेका कारण संघ यो हालतमा पुगेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले एन्फाको विधानका कारण आफूहरुले हस्तक्षेप गर्न नमिल्ने भएकाले एन्फा, कास्कीको यो हालत टुलुटुलु हेरेर बस्न बाध्य भएको बताए । उनले अब पोखरामा मुलुककै उत्कृष्ट अन्तर्राष्ट्रिय स्तरको रंगशाला बन्ने भएकाले यस रंगशालाको व्यवस्थापन गर्न सक्ने, प्राविधिक ज्ञान भएको सबल नेतृत्व आवश्यक रहेको बताए ।

कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम बहादुर गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सल्लाहकारहरु टीका कार्की, विक्रम थकाली, मदन केसी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछाने, क्लबहरुका तर्फबाट बगर भाईखलकका दिलबहादुर गुरुङ, आदर्श क्लब भण्डारढिकका लक्ष्मीनारायण भट्टराई, ड्यामसाईड क्लबका पदमबहादुर ढकाल, शितलदेवी क्लबका सुरज श्रेष्ठ, भ्याली स्पोर्टस् क्लबका विश्व तण्डुकार, पूर्व सदस्य तिलकबहादुर अधिकारी लगायतले एन्फा कास्कीलाई ऋणमुक्त गराई पुनः चलायमान संस्था बनाउन आफूहरु योगदान गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रमको अध्यक्षता समेत गरेका मञ्चका अध्यक्ष केशव पाठकले कास्की जस्तो जिल्लामा फुटबल संघको समस्यालाई समाधान गर्ने हेतु कार्यक्रम आयोजना गरिएको बताए । उपाध्यक्ष दिननाथ बरालले स्वागत तथा सचिव रञ्जन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए ।