राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पोखरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


पोखरा – राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पोखरामा शनिबार ४ नम्बर प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । क्षेत्रिय निर्वाचन कार्यालय पोखराको परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयको निर्वाचन अधिकृत एवं कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारीले स्थापना गरे । निर्वाचन कार्यालयले माघ २४ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका, महानगरपालिका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ । निर्वाचनमा प्रदेश नम्बर ४ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका, महानगरपालिका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ६० गरी कुल २३० जनाले मदतान गर्न पाउने निर्वाचन अधिकारीले जानकारी दिए ।

प्रदेश नम्बर ४ बाट निर्बा्चित हुने ८ सदस्य मध्ये तीन जना खुल्ला, ३ जना महिला , १ जना दलित र एक जना अल्पसंख्यक वा अपाङ्ग राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनेछन् । यस्तै निर्वाचन अधिृकत कार्यालयले राष्ट्रिय सभा निर्वाचनको समय तालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार आयोगले ७ माघमा मतदाता नामावली प्रकाशन गर्नेछ भने सोही दिन प्रकाशित नामावलीमाथि दाबी विरोधका लागि समय दिएको छ । यस्तै, ८ र ९ माघका दिन आयोगले उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन अधिकारीले बताए ।

यस्तै, १० माघका दिन उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आयोगले समय तोकेको छ भने सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ । आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिनका लागि ११ र १२ माघको मिति तय गरेको छ । उजुरी उपरको छानबिन गरी आयोगले १३ माघमा जाँचबुझ गरी निर्णय गर्नेछ भने १४ माघमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।

यसैगरी, कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १४ र १५ माघका दिन फिर्ता लिन सक्ने र १५ गते नै उम्मेदवारको अन्तिम नामावली आयोगले प्रकाशन गर्नेछ । यस्तै, १५ माघका दिन आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिनेछ भने २४ माघ बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्ने आयोगको कार्यतालिका छ ।