विपद व्यवस्थापन तालिममा कोईराला र ढकाल सम्मानित


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ९ का वडा सचिव लोकदर्शन कोईराला र नेपाल रेडक्रस सोसाईटी कास्की जिल्ला सदस्य सुर्यप्रसाद ढकाल शनिबार सम्मानित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी पोखरा ९ उपशाखाले आयोजना गरेको दुई दिने आधारभूत बिपद जोखिम ब्यबस्थापन तालिम समापनका अवसरमा शनिबार कोइराला र ढकाललाई सम्मान गरिएको हो ।

कास्की जिल्ला मै पहिलो पटक विपद् व्यवस्थापन कोष स्थापना गरि मानव सेवामा अतुलनिय कार्य गरेकोमा वडा सचिव कोईरालालाई र उपशाखा ९ मा रेडक्रस अभियानमा अतुलनिय योगदान गरेकोमा ढकाललाई सम्मान गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा पोखरा ९ का सभापति दिपेन्द्र मर्सानीले वताए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य विन्दुकुमार थापाले कोईराला र ढकाललाई सम्मान गर्दै मानव सेवा नै मानव धर्म भएको वताउँदै मानविय सेवाका कार्यमा अझै वढि सक्रिय हुन यो सम्मानले उर्जा थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा वडा अध्यक्ष रामराज लामिछाने, सम्मानित व्यक्तिहरु लोकदर्शन कोईराला र सुर्यप्रसाद ढकाल, सहभागीको तर्फबाट बिकास आनन्द र दुर्गादेबी पहारीले मन्तव्य व्यक्त गरेका थिए ।

दुई दिनसम्म संचालित तालिममा वडा नगर स्तरीय विपद ब्यबस्थापन समितिको बारेमा ओमराज पौडेलले, रेडक्रस अभियानका बारेमा कृष्ण तिमिल्सिनाले, स्योर कार्यक्रमको बारेमा दिवाकर सुवेदीले, बिपद ब्यबस्थापन चक्र तथा उद्दार राहत र पुर्व सुचना प्रणाली बारेमा प्रशिक्षक संयोजक सुर्य प्रसाद ढकालले, सामुदायिक नक्साङ्न लक्ष्मण कोइरालाले सहजीकरण गरेका थिए । सो अबसरमा समुदायमा हुने विभिन्न प्रकोपहरु बाढी पहिरो, भुकम्प, आगलागी, महामारी बाताबरण प्रदुषणको बारेमा वडा सचिव लोकदर्शन कोइरालाले सहजीकरण गरेका थिए ।

तालिममा वडाभित्रका २० टोल बिकास संस्था, १९ आमा समुह, महिला समुहहरु, जनप्रतिनिधि, ३ बिद्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए ।

उपशाखाका सभापति दिपेन्द्र मर्सानीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपसभापति टेकबहादुर भुजेलले, रेडक्रसका सात सिद्धान्त सदस्य सागर पौडेलले र संचालन सचीव उमा ठकुरीले गरेकी थिइन् ।