सोमबार माघे संक्रान्ति, पोखराको ढुङ्गेसाघुमा मेला


राजाराम पौडेल, पोखरा -नेपालीले मनाउने माघे संक्रान्ति पर्वको आफ्नै महत्व छ । यो पर्वलाई देशका विभिन्न स्थानमा रहेका भिन्न भिन्न समुदायले आ–आफ्नै तरिकाले मनाउने गर्दछन् । आगामी सोमबार परेको यो पर्व देशभर स्नान, दान लगायत विभिन्न धार्मिक कार्य गरी मनाउने गरिन्छ । माघे सक्रान्तीको दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा मकर राशिमा प्रवेश गर्ने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । त्यस दिन घिउ, चाकु, तरुल, तिलको लड्डु, फुलौरा, खिचडी लगायतका परिकार खाने गरिन्छ । थारु समुदायले यस पर्वलाई नयाँ वर्ष प्रारम्भ भएको दिनका रुपमा मनाउने गर्छन् । थारु समुदायले माघी भनेर मनाउँछन र नयाँ वर्ष मान्ने गर्छन् । थारु समुदायमा माघी पर्वको अवसरमा आफ्ना चेलीहरुलाई उपहार दिने चलन छ ।


सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरू हुन्छ भन्ने मान्यता छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्र्मी मौसमको प्रारम्भ हुने गर्दछ । माघे सङ्क्रान्तिका दिन विशेष गरी वनतरुल, सखरखन्न, खुँदो, चिउरा, घिउ, चाकु र विभिन्न परिकारहरू तयार पारेर खाने गरिन्छ ।
यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्छ । इलाम जिल्लाको माइबेनी र झापा जिल्लाको प्रसिद्ध धार्मिक नदी कन्काईमा हिन्दू धर्मावलम्बीले मकर स्नान गर्छन् । सुनसरी जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल बराहक्षेत्रमा माघे सङ्क्रान्तिका दिन विहानैदेखि हजारौं हिन्दू धर्मावलम्बीले स्नान गरी भगवान विष्णुको पूजा आराधना गर्छन् । चर्चित माघे सङ्क्रान्ति मेला रूरू क्षेत्र रिडीमा तीन दिनसम्म लाग्छ । धार्मिक र पर्यटकीय महत्व बोकेको तनहुँको देवघाटमा तीन दिन मेला लाग्छ । मेलासँगै गलेश्वर आश्रममा लक्ष्यहवन गरिन्छ । नेवारहरु यस पर्वलाई ‘घ्यूचाँकु सँल्हु’ भन्दछन् । तराइका जिल्लाहरुमा मैथेलीले यस पर्वलाई तिला संक्रान्ति पर्वको रुपमा मनाउछन् । माघे सक्रान्तिलाई मगर समुदायले चेलिवेटी पुज्ने र पितृ पुजा गर्ने पर्वको रुपमा तीन दिनसम्म मनाउने गर्दछन् ।


पोखराको ढुङ्गेसाघुमा मेला
माघेसक्रान्ति पर्वको अवसरमा पोखराको ढुङ्गेसाघुमा मेला लाग्ने गर्दछ । विना प्रचार–प्रसार वर्षेनी आयोजना हुँदै आएको यो ढुङ्गेसाँघुको मेलाको अवलोकन गर्न हजारौ दर्शक पोखराको ढुङ्गेसाँघु पुग्ने गर्दछन् । परम्परागत रुपमा लाग्दै आएको यो मेला हेर्न पुगेका दर्शकको भिँडलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे पर्दछ । प्रत्यक वर्ष माघेसंक्रान्तिको दिन लाग्दै आएको मेलामा नपुग्नेलाई लाग्न सक्छ, अब त मेला पनि लाग्न छाड्यो होला भनेर । किनभने यस्ता मेलाले संचारमाध्यममा प्रचार पनि पाउन छाडिसकेका छन् । तर वर्षभरीलाई चाहिने कुटो, कोदालो मात्र नभएर नाङ्गलो, मान्द्रो अनि हसिँयासम्म किन्नका लागि जानेहरुको भीड घटेको अझैे छैन । यस्को पुष्टि धार्मीक तथा साँस्कृतिक महत्व बोकेको पोखराको ढुङ्गेसाँघु मेलामा वर्षेनी दर्शकको संख्या बढ्दै गएबाटनै हुन्छ । सदाशिवजि सिद्धेश्वर हरिहर मन्दिर समितिद्धारा आयोजित मेलामा प्रचारप्रसार विनानै दर्शकको सहभागिता बढ्दै गएको समितिका अध्यक्ष ऋषिराम भण्डारीले बताए । एकदिने मेलामा एक लाख पचास हजार भन्दा बढि दर्शकले अवलोकन गर्नेे तथा झण्डै एक करोडको कारोबार हुने दावी उनको छ । वि.स.१८६४ सालबाट निरन्तर रुपमा मेलाको आयोजना गर्ने गरिएको उनले जनाए । भगवान राम र सिताले माघेसंक्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मीक विश्वास रहेकोले शखर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्बदन्ती छ । मेलाको आर्कषणमा घरायसी सामानको विक्रि, मन्दिरको दर्शन र खेलकुद प्रतियोगीता रहने छन् । त्यहाँ रहेका सदाशिवजी सिद्धेश्वर हरीहर मन्दिर, सिता मन्दिर, शिव मन्दिर, नारायण मन्दिर, सिद्धेश्वर मन्दिर, गणेश मन्दिरमा विहानैदेखि साँझसम्म भक्तजनको भीड लाग्ने गर्दछ । शिवरात्री, रामनवमी, कृष्णा जन्माअष्टमी, जनैपूर्णिमा लगायतमा समेत त्यहाँ भक्तजनको भिड लाग्ने गर्दछ । पोखराको वडा नं. १५ र १७ लाई जोड्ने ढुङ्गाको पुल त्यस ठाउँमा रहेकोले त्यसलाई ढुङ्गेसाँघु भन्ने गरीएको जानकारहरु बताउँछन् । मेला हेर्न कास्की र यसआसपासका जिल्लाबाट दर्शक आउने गरेको भएपनि यस्लाई व्यवस्थित ढगंले सञ्चालन गर्न सक्ने हो भने दर्शक सहभागीता बढ्ने मात्र नभएर पर्यटकको लागि नयाँ हब बन्ने उनीहरुको दावी छ ।


पोखराका अन्य ठाउँमा मेला–महोत्सवको आयोजना हुन नथाल्दै ढुङ्गेसाँघुको मेलाको आयोजना हुदै आएको हो । त्यसैलेत पोखराको देउराली समुहले वि.स.२०५२ सालको अन्त्यतिर बजारमा ल्याएको ‘अन्योल’ नामक एल्बममा समावेश गरिएको ‘ढुङ्गे साँघुको मेलामा’ बोलको गीतले कमाएको चर्चा अझैसम्म कायमै छ । शान्त बज्राचार्यले स्वर रहेको उक्त गीत ढुङ्गे साँघुको मेला अर्थात् माघे संक्रान्तिको बेलामा पोखरा आसपासमा निकै बज्ने गर्दछ । त्यस्तैगरी स्व. विनोद गौचनले २०५५ सालमा ‘ढुङ्गेसाँघुको मेलामा’ कवितासंग्रह प्रकाशन गरे भने पोखरेली गायक उज्वल भण्डारीले आफ्नो दोस्रो एल्बम घरको चिनारीमा ‘यसपाली ढुङ्गेसाँघुमा’ गीत समावेश गरे । यतिमात्र हैन ढुङ्गेसाँघुमेलाको महत्वको बारेमा चर्चा गरेर विभिन्न श्रष्टाले सिर्जना गरेका कृतिले झनै यो मेलाको महत्वलाई प्रष्ट्याउँदछ । परापूर्वकालदेखि चलिआएको यो मेलाको संंरक्षण र व्यवस्थापनमा भने खासै ध्यान पुग्न सकेको देखिदैन ।

तपाईको प्रतिक्रिया