प्रथम राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिता हुँदै


पोखरा – राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिताको लागि जिल्ला तहमै अडिसन हुने भएको छ । फागुन १२ गते पोखराको प्रदर्शनी केन्द्रमा हुने फाइनलका लागि १५ समूह छनोट गर्न जिल्लास्तरमै अडिसन गर्न लागिएको कार्यक्रम संयोजक तुलसी प्रभासले बताए ।

लायन्स क्लब अफ पोखरा भद्रकाली र पुष्पाञ्जली भजन समूह पोखराको आयोजनामा फागुन १२ मा प्रथम राष्ट्रिय खुल्ला लोक भजन प्रतियोगिता हुँदैछ । प्रतियोगिताको बारेमा जानकारी दिन शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक प्रभासले लोपोन्मुख संस्कृतिको जगेर्नाका लागि थालिएको अभियान सफल बनाउन सबै क्षेत्रको सहयोग जरुरी रहेको बताए ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद ५० हजार रुपैयाँका साथमा एउटा भजन रेकर्डिङको गराउन पाउनेछन् । यसैगरी दोस्रोले ३० हजार, तृतीय पुरस्कार २० हजार, सान्त्वना पुरस्कार ५ समूहलाई ३ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिए । लायन्स क्लब अफ पोखरा भद्रकालीका अध्यक्ष भरत कोइरालाले सेवा, नेतृत्व विकास र भाइचारको सिद्दान्तबाट निर्देशित लायन्सले संस्कृति जगेर्नाका लागि सानो पहल थालेको बताए । पुस मसान्तसम्म समूह दर्ता गर्न सकिनेमा हालसम्म २ दर्जन भन्दा बढी समूह सम्पर्कमा आएको उनले जानकारी गराए ।

कलाकार तथा लोक गायक प्रजापति पराजुलीले अब लोक भजन जगेर्नाका लागि अभियान नै सुरु गर्नुपर्ने बताए । उनले भने,‘लोप भइसकेको दोहोरीलाई जगाउन हामी सफल भयौं, अब लोक भजनलाई पनि त्यसरी नै जुरुक्क उचाल्न सकिन्छ भन्ने विश्वास हामीलाई छ ।’ राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानका अध्यक्ष समेत रहेका पराजुलीले प्रतिष्ठानको महाधिवेश समेत संगै गर्न सकिने प्रस्ताव राखे ।

संस्कृति जगेर्नामा लागि परेका अभियन्ता रमेशकान्त अधिकारीले अबको पुस्तालाई धर्म र संस्कृतिको फरक बुझाउनका लागि पनि यस्ता अभियान जरुरी रहेको बताए । स्याङ्जाका जिल्ला न्यायाधीष अधिकारीले भने, ‘संस्कृति केबल मनोरञ्जनका लागि मात्र नभएर समाजलाई जीवन्त राख्न सघाउने माध्यम हो ।’

गीत गाएर, नाचेर अनि बजाएर पनि जीवन चल्नुपर्छ अनि नयाँ पुस्तालाई हाम्रो संस्कृतिप्रति आकर्षित गर्नुपर्छ भन्ने उद्देश्यका साथ भजन प्रतियोगिता गर्न लागेको कार्यक्रम संयोजक तुलसी प्रवासले बताए । उनले भने,‘अब हाम्रो संस्कृतिले मूल्य खोज्नुपर्छ, संस्कृति अब व्यावसायिक बन्नुपर्छ भन्ने अभियानमा हामी लागेका छौं । कार्यक्रमबाट बचेको पैसा संस्कृति संरक्षण र समाजसेवा लगाइने छ ।

माघ महिनाभर देशका विभिन्न स्थानमा अडिशन हुने र सबैतिरबाट उत्कृष्ट ठहरिएका समूहलाई अन्तिम चरणको प्रतियोगितामा सहभागी गराइने आयोजकले जनाएका छन् । पोखरा बाहिरका सहभागी समूहलाई आउने जाने खर्च उपलब्ध गराइने छ । प्रतियोगितामा परम्परागत बाजा खैजडी, मुजुरा, मृदंग, मादल, हार्मोनियम प्रयोग हुनेछन् । सहभागी प्रतियोगीलाई परम्परागत जातीय पोसाक अनिवार्य गरिएको छ ।

अन्तिम प्रतियोगितामा एउटा समूहले बढीमा २० मिनेटको समय पाउने र भजनको साथमा नृत्य र झाँकीहरू पनि देखाउन सकिने संयोजक प्रभासले जनाए । समूह दर्ताका लागि १ हजार शुल्क तोकिएको छ भने दर्शकका लागि १ हजार, ५ सय र २ सय रुपैयाँका टिकटको व्यवस्था गरिएको छ । ५० प्रतिशत निर्णायकको निर्णय र ५० प्रतिशत दर्शक भोटका आधारमा उत्कृष्ट छनोट गरिने छ । आयोजकका अनुसार दर्शकले काटेको टिकटको अर्धकट्टी आफूले मन पराएको समूहलाई भोटको रुपमा खसाउन सक्नेछन् ।