वर्तमान राष्ट्रपति, उपराष्ट्रपति र सभामुख दाहोर्‍याउने गृहकार्य शुरु


काठमाण्डौ – गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिँदै गएको छ। निर्वाचनमा ६०/४० को भागबन्डा गरेका एमाले र माओवादी केन्द्रको स्पष्ट बहुमत रहेकाले राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुख वाम गठबन्धनबाटै हुने देखिएको छ।  आजको राजधानी दैनिकमा खबर छ ।

वाम गठबन्धनबाट नयाँ राष्ट्रपति, सभामुख बन्ने भएपछि गठबन्धनभित्रका आकांक्षीले आन्तरिक गृहकार्य मजबुद बनाएका छन्। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुवैले फेरि एक कार्यकाल दोहोरिने इच्छा देखाएका छन्। स्रोतका अनुसार दुवै जनाले दोहोरिने इच्छासहित आन्तरिक लबिङ तीव्र पारेका छन्।

राष्ट्रपति भण्डारीले केही दिनअघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारका लागि डिनर पार्टी आयोजना गरेकी थिइन्। एमाले र माओवादी केन्द्र पार्टी एकताको क्रममा रहेको र दाहाल एकतापछिको पार्टी अध्यक्ष हुने सम्भावना रहेको अवस्थामा भएको डिनर पार्टीलाई कतिपयले राष्ट्रपतिको पुनः दोहोरिने इच्छास्वरूप दाहालसँग नजिकिने योजनाका रूपमा चित्रण गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत वर्तमान राष्ट्रपति र उपराष्ट्रपतिलाई दोहोर्‍याउने पक्षमा सकारात्मक देखिएका छन्। तर, दुई पार्टीबीच पार्टी एकताका क्रममा नेताहरूको व्यवस्थान गर्ने क्रममा नयाँ राष्ट्रपति/उपराष्ट्रपतिका साथै सभामुख÷उपसभामुख परिवर्तन हुने सम्भावना बढी छ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले नेता झलनाथ खनालले राष्ट्रपतिका लागि इच्छा देखाएका छन्। खनालले राष्ट्रपतिका लागि चासो राख्दै गृहकार्य अगाडि बढाएका छन्। पार्टी एकतापूर्व भने एमाले अध्यक्ष ओली प्रधानमन्त्री, माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टी अध्यक्ष, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति हुने गरी गृहकार्य भएको थियो। पछिल्लो समय नेता नेपाल राष्ट्रपति भन्दा पार्टीमा सक्रिय राजनीति गर्ने पक्षमा रहेको उनी निकटका नेताहरू बताउँछन्।

माओवादी केन्द्र भने प्रधानमन्त्री र पार्टी अध्यक्ष एउटा एमाले र एउटा माओवादीले बाँड्नुपर्ने र राष्ट्रपति र सभामुख दुई संवैधानिक निकायसमेत एक/एक वटा बाँडफाँट गर्नुपर्ने पक्षमा छ। पद बाँडफाँटका क्रममा राष्ट्रपति माओवादीको भागमा परेको अवस्थामा नेता रामबहादुर थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने योजनामा माओवादी केन्द्र रहेको छ। माओवादीको औपचारिक र अनौपचारिक बैठकमा थापालाई राष्ट्रपतिको उम्मेदवार बनाउने विषयमा चर्चा भए पनि दुई पार्टीबीच पदीय बाँडफाँट भइनसकेकाले निर्णय भइसकेको छैन। राष्ट्रपतिमा थापा नहुने अवस्थामा उनी राष्ट्रिय सभाको उम्मेदवार बन्ने निश्चित जस्तै छ। माओवादी केन्द्रले वाम गठबन्धन निकट तर स्वतन्त्र छविको व्यक्तिलाई राष्ट्रपति बनाउन सकिनेसमेत जनाएको छ।

माओवादी केन्द्रका सचिवालय सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री, राष्ट्रपति, सभामुखलगायत पदको विषयमा छलफल भएको तर निष्कर्षमा पुगिनसकेको जानकारी दिँदै राष्ट्रपतिमा स्वतन्त्र छविको व्यक्ति ल्याउन सकिने बताए। वाम गठबन्धनभित्र पदीय भागबन्डाको विषय भने टुंगोमा पुग्न सकेको छैन। यसअघि दुई पार्टीले एक अध्यक्षले सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पार्टी अध्यक्ष हुने बताए पनि सहमति जुट्न बाँकी छ।

गत २५ पुसमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले प्रदेश सरकार, सभामुख तथा राष्ट्रिय सभाको उम्मेदवारको गृहकार्यका लागि दुवै पार्टीबाट ३/३ जना सदस्य रहने गरी एक कार्यदल गठन गरेको थियो।

समितिको बैठकले अब बस्ने बैठकमा पार्टी एकताका लागि सांगठनिक र वैचारिक विषयमा गृहकार्यका लागि कार्यदल गठन गर्ने नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओली थाइल्यान्डबाट उपचारपछि आज (मंगलबार) स्वदेश फर्किएसँगै चाँडै पार्टी एकता संयोजन समितिको बैठक बसेर एकतालगायत विषयमा सहमतिमा पुग्ने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन्।