मापसेविरुद्ध कारबाही सुरु भएपछि घटेको सवारी दुर्घटना पुन: बढ्दै


काठमाण्डौ – ०६९ सालदेखि ट्राफिक प्रहरीले मापसेविरुद्ध कारबाही सुरु गरेको हो । त्यसभन्दा अघिल्लो वर्ष उपत्यकामा ४९ सय १४ वटा सवारी दुर्घटना भएका थिए । जसमा मृत्यु हुनेको संख्याको एक सय ७१ थियो । मापसेविरुद्ध कारबाही सुरु भएको वर्षमा सवारी दुर्घटना नाटकीय ढंगले घट्यो । मृत्यु हुनेको संख्या पनि सोही अनुपातमा घट्यो । यो अवस्था निरन्तर तीन वर्षसम्म चल्यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

महाशाखाका अनुसार मापसेविरुद्ध कारबाहीपछिको पहिलो आर्थिक वर्ष ०६९–७० मा उपत्यकाभित्र ४७ सय ७० सवारी दुर्घटना भए, जसमा एक सय ४७ ले ज्यान गुमाए । आव ०७०–७१ मा ४६ सय ७२ सवारी दुर्घटना हुँदा एक सय ४३ ले ज्यान गुमाए । यस्तै, आव ०७१–७२ मा दुर्घटनाको संख्या ४९ सय ९९ पुग्यो, जसमा एक सय ३३ को मृत्यु भयो ।

त्यसपछिको दुई आवमा भने सवारी दुर्घटनासँगै मृत्यु हुनेको संख्या पनि बढेको देखिन्छ । आव ०७२–७३ मा ५६ सय ६८ सवारी दुर्घटना हुँदा एक सय ६६ ले ज्यान गुमाए । आव ०७३–७४ मा ५५ सय ३० सवारी दुर्घटना भएका थिए, जसमा एक सय ८२ को मृत्यु भएको थियो । चालू आवको ६ महिनामा उपत्यकाभित्र २८ सय ५७ वटा सवारी दुर्घटना भएका छन् । यी दुर्घटनामा ७८ ले ज्यान गुमाइसकेका छन् ।

यी हुन् ‘ब्ल्याक स्पट’
उपत्यकामा सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले विभिन्न २३ स्थानलाई ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरेको छ । महाशाखाका अनुसार उपत्यकाभित्र कलंकी, बबरमहल, मिनभवन, एयरपोर्ट, माइतीघर, घन्टाघर, भक्तपुर, सातदोबाटो, ग्वार्को, थानकोट, सीतापाइला, गोंगबु, महराजगन्ज, सुकेधारा, चाबहिल, जावलाखेल, बौद्ध, कालीमाटी, सिंहदबार, गौशाला, बुढानीलकण्ठ, सानेपा र सल्लाघरी ‘ब्ल्याक स्पट’ का रूपमा पहिचान गरिएका ठाउँ हुन् ।

मापसे चेकजाँच गर्नुभन्दा अघिल्लो पाँच वर्ष

  • ०६४–६५ – दुर्घटना २२११, मृत्यु १२०
  • ०६५–६६– दुर्घटना २७६५ , मृत्यु १३७
  • ०६६–६७– दुर्घटना ४१०४ , मृत्यु १४६
  • ०६७–६८ दुर्घटना ४९१४, मृत्यु १७१
  • ०६८–६९ दुर्घटना ५०९६ , मृत्यु १४८
  • जम्मा दुर्घटना १९०९०, मृत्यु हुने ७२२

मापसे चेकजाँचपछिको पाँच वर्ष

  • ६९–७० दुर्घटना ४७७० , मृत्यु १४७
  • ०७०–७१ दुर्घटना ४६७२ मृत्यु १४३
  • ०७१–७२ दुर्घटना ४९९९ , मृत्यु १३३
  • ०७२–७३ दुर्घटना ५६६८ , मृत्यु १६६
  • ०७३–७४ दुर्घटना ५५३० , मृत्यु १८२
  • जम्मा दुर्घटना २५६३९, मृत्यु हुने ७७१