स्पेनका लागि पहिलो नेपाली राजदूत म्याड्रिड आउँदै


बार्सिलोना/ नेपाल सरकारले स्पेनमा पहिलो पटक राजदूत पठाउन लागेको छ। दूताबास स्थापना गर्ने निर्णय गरेको झन्डै एक बर्ष पछि सरकारले राजदूत पठाउँन लागेको हो।

यस अघि मन्त्रिपरिषको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा भरतबहादुर रायमाझी नियुक्त गरेकी थिईन्।

राजदूत रायमाझी सहितको टोली जनवरी २४ तारिख बिहान ८ बजे म्याड्रिड आउन लागेको परराष्ट्र स्रोतले जनाएको छ। नियुक्ति पाएको लामो समयसम्म पनि राजदूतलाई कार्यक्षेत्रमा पठाउन परराष्ट्र मन्त्रालय चुकेको भन्दै आलोचना भईरहेको थियो।

दूताबास स्थापना गर्ने निर्णयपछि कार्यन्वयन हुनेमा आशंका ब्यक्त गरिएको बेला राजदूत सहितको टोली म्याड्रिड आउँन लागे पछि स्पेनबासी नेपालीहरु उत्साहित बनेका छन् । करिव एक दशक अगाडिदेखि स्पेनवासी नेपालीहरुको दूताबासको माग राख्दै पटक पटक परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायत स्पेन स्थित राजनीतिक, क्षेत्रीय, जातीय संघ सस्थाहरुले दूताबासको माग गर्दै पटक पटक सरकारलाई ज्ञापनपत्र बुझाएका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकारले दूताबास स्थापना गर्ने निर्णय गरेको थियो। पटक पटक स्पेनबासीको गुनासो सुन्दै आएका डा. प्रकाशशरण महत परराष्ट्र मन्त्री हुँदा दूताबास खोल्ने निर्णय भएको हो। उनले अनाबश्यक ठाउँमा सरकारले खोलेका दूताबास बन्द गरेर भए पनि स्पेनमा खोल्नु पर्ने अभिव्यक्ति दिदै आएका थिए।