स्पेनको अन्तराष्ट्रिय पर्यटन मेलामा,नेपालका ११ कम्पनी सहित ब्यबसायीहरु सहभागी


बसन्त रानाभाट,स्पेन

स्पेनको राजधानी म्याड्रिडमा जारी ३८ औ अन्तराष्ट्रिय पर्यटन मेला “फितुर” मा नेपालले पनि सहभागिता जनाएको छ। नेपाल टुरिजम बोर्ड र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाटा) को संयोजनमा पर्यटन क्षेत्रसँग सम्बन्धित नेपालका ११ बटा कम्पनीहरुले मेलामा सहभागिता जनाएका हुन्।

पर्यटन ब्यबसायीहरुका लागि बिश्वस्तरको मेला “फितुर” अर्थात् ईन्टरनेशनल टूरिजम फेयर हरेक बर्ष आयोजना हुँदै आएको छ। म्याड्रिड ट्रेड फेयर इष्टिट्यूशनले परिचित संस्था “एल आईफेमा”ले  हरेक बर्ष मेला आयोजना गर्दै आएको हो।स्पेनिस आर्थिक अखबार “सिंको दियास” का अनुसार यसलाई बिश्वमै दोस्रो ठुलो र महत्वपूर्ण पर्यटन मेलाको रुपमा हेरिन्छ।

सन् १९८० मा पहिलो संस्करण आयोजना भएको थियो त्यतिबेला पनि ३७ देशका ३ हजार पर्यटन ब्यबसायीहरु मेलामा सहभागी थिए भने १ हजार ५ सय कम्पनीहरुले भाग लिए। तर अहिले आएर मेलामा १ सय ६५ का झन्डै १० हजार कम्पनीहरु सहभागि भएको बताईन्छ। यस्तै पर्यटन ब्यबसायीहरु सहित २ लाख भन्दा बढीले मेलाको अबलोकन गर्ने अनुमान छ।

स्पेनका प्रधानमन्त्री मारियानो राखोयले समेत शुक्रबार मेलाको अबलोकन गरेका छन्। जनवरी १७ देखि २१ सम्म पाँच दिन चल्ने मेलामा पर्यटन क्षेत्रका बिभिन्न विधाहरुमा उत्कृष्ट कम्पनीहरुलाई अवार्ड समेत प्रदान गरिन्छ।

“फितुर”मा नेपाल किन ?

नेपालको परिदृश्य र सस्कृतिको पहिचानका लागि मेलामा सहभागिता जनाएको नेपाल टुरिजम बोर्ड अनुसन्धान योजना तथा अनुगमन महाशाखाका निमित्त निर्देशक सुनिल शर्माले बताए। उनले भने,”नेपालको परिदृश्य,संस्कृति हाम्रो पृथक रहनसहनको चिनारी दिनु नै सहभागिताको उदेश्य हो। मेलामा ११ बटा कम्पनीहरुले आ- आफ्ना डेस्कहरुबाट नेपालको पर्यटन प्रवद्वनमा सघाएका छन्।” शर्माका अनुसार नेपालले झन्डै १६ बर्ष देखि मेलामा सहभागिता जनाउदै आएको छ।मेलामा नेपाल टुरिजम बोर्डका बरिष्ट अधिकृत खेमराज तिमिल्सिना,नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाटा) का फितुर संयोजक लक्ष्मण लम्साल,सहसंयोजक बिनय बस्नेत लगायत पर्यटन ब्यबसायीहरु गरी २१ जनाले सहभागिता जनाएका छन्।

यसैबिच स्पेनका टुर अपरेटरहरुसँग प्रत्यक्ष कुराकानी गर्दै नेपालका कम्पनीहरुले प्याकेज लिने, किन्ने र सेल गर्ने कार्यक्रम समेत रहेको सहभागीहरुले बताएका छन्।मेला सकिए लगत्तै नेपालका पर्यटन ब्यबसायीहरु बार्सिलोना र बिल्बाउमा पुगी कार्यक्रम गर्ने भएका हुन्।