स्पेनमा फितुर पर्यटन मेला सम्पन्न,नेपालको पदयात्रा,पर्वतारोहण बारे चासो


बसन्त रानाभाट,स्पेन

३८ औ अन्तराष्ट्रिय पर्यटन मेला “फितुर” आईतबार सम्पन्न भएको छ। स्पेनको राजधानी म्याड्रिडमा पाँच दिन सम्म चलेको अन्तराष्ट्रिय पर्यटन मेला सम्पन्न भएको हो। मेलामा नेपालका ११ बटा ट्राभल एजेन्ट कम्पनीहरुले भाग लिएका थिए। नेपाल टुरिजम बोर्ड र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) को संयुक्त संयोजनमा ११ कम्पनीका २१ पर्यटन ब्यबसायीहरु मेलामा सहभागी बनेका हुन्।

नेपालको परिदृश्य र सस्कृतिको पहिचानका लागि मेलामा सहभागिता जनाएको नेपाल टुरिजम बोर्ड अनुसन्धान योजना तथा अनुगमन महाशाखाका निमित्त निर्देशक सुनिल शर्माले बताए। उनले भने,”नेपालको परिदृश्य,संस्कृति हाम्रो पृथक रहनसहनको चिनारी दिनु नै सहभागिताको उदेश्य हो।” नेपालका छुट्टा छुट्टै ११ डेस्कहरुमा आउने आगन्तुकहरुले बिशेषगरी पदयात्रा,पर्वतारोहण चासो ब्यक्त गरेको सहभागीहरु बताउँछन्। नेपाल टुरिजम बोर्डका बरिष्ट अधिकृत खेमराज तिमिल्सिना,नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्स (नाटा) का फितुर संयोजक लक्ष्मण लम्साल,सहसंयोजक बिनय बस्नेत लगायत पर्यटन ब्यबसायीहरुले मेलामा सहभागिता जनाएका थिए।

म्याड्रिड ट्रेड फेयर इष्टिट्यूशनले परिचित संस्था “एल आईफेमा”ले “फितुर” अर्थात् ईन्टरनेशनल टूरिजम फेयर हरेक बर्ष आयोजना गर्दै आएको छ। हरेक बर्ष मेला आयोजना गर्दै आएको हो।स्पेनिस आर्थिक अखबार “सिंको दियास” का अनुसार यसलाई बिश्वमै दोस्रो ठुलो र महत्वपूर्ण पर्यटन मेलाको रुपमा हेरिन्छ।सन् १९८० मा पहिलो संस्करण आयोजना भएको थियो त्यतिबेला पनि ३७ देशका ३ हजार पर्यटन ब्यबसायीहरु मेलामा सहभागी थिए भने १ हजार ५ सय कम्पनीहरुले भाग लिए। तर अहिले आएर मेलामा १ सय ६५ देशका झन्डै १० हजार कम्पनीहरु सहभागि भएको बताईन्छ। यस्तै पर्यटन ब्यबसायीहरु सहित २ लाख भन्दा बढीले मेलाको अबलोकन गरेका छन्।

स्पेनका प्रधानमन्त्री मारियानो राखोयले समेत शुक्रबार मेलाको अबलोकन गरेका थिए। जनवरी १७ देखि २१ सम्म पाँच दिन चलेको मेलामा पर्यटन क्षेत्रका बिभिन्न विधाहरुमा उत्कृष्ट कम्पनीहरुलाई अवार्ड समेत प्रदान गरिएको छ।