नेपाली पाठशाला बार्सिलोनाले चौथो बार्षिकोत्सव मनायो


बार्सिलोना/ नेपाली पाठशाला बार्सिलोनाले आफ्नो स्थापनाको चौथो बर्ष पुरा गरेको छ। युरोपमा नेपाली बालबालिकाहरुलाई नेपाली भाषा लेख्न र पढ्न सिकाउन जोड दिईरहेको बेला पाठशालाले चौथो बार्षिकोत्सव मनाएको हो। सन् २०१४ जनवरी देखि बालबालिकाहरुलाई पढ्न र लेख्न सिकाउँने गरी नेपाली पाठशाला बार्सिलोना सुरु भएको थियो।

पाँच जना बालबालिकाहरुलाई घरमा नै पढाउँन सुरु गरेर स्थापना भएको पाठशालाले स्पेनको समुदायमा राम्रो छाँप छोड्न सफल छ । सन् २०१६ मा पाठशाला ब्यबस्थापन समिति नै गठन भई संचालित भए पछि यसले झनै ठुलो आकार लिदै गएको छ । उमेर र स्तर अनुसार फरक तीन कक्षामा हाल ३० जना नेपाली बालबालिकाहरुले नेपाली भाषा सिक्दै आएका छन् ।

शनिबार बार्सिलोनामा सम्पन्न कार्य्रक्रममा बालबालिकाहरुले सरस्वतीको पूजा आराधाना गरे। साथमा बालबालिकाहरुले नेपाली गीत संगीत तथा नृत्य समेत प्रस्तुत गर्दै सबैको ध्यान केन्द्रित गरेका थिए।

नेपाली पाठशालालाई शुभकामना दिन स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुले उपस्थिति रहेको थियो। बालबालिकाहरुको बढ्दो संख्या सँगै स्थान लगायत बिबिध पक्षमा परिमार्जन गर्न आबश्यकता रहेको भन्दै आँफूहरुको सक्दो सहयोग रहने प्रतिबद्दता बक्ताहरुले ब्यक्त गरेका छन्। पाठशाला संयोजक सरला सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतीथीको रुपमा गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य शितल भुर्तेल भुसाल,विशेष अतिथिहरु राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा,पर्यटन दूत दीपक खरेल लगायत स्पेन स्थित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी बने।

यसैबीच पाठशाला प्रति योगदानको कदर गर्दै एनआरएनए स्पेनका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य मुक्त बहादुर गुरुङलाई सम्मान तथा स्थानीय कलाकारहरुलाई समाजप्रतिको योगदानको कदर गर्दै संगीत सामग्री खरिद गर्न बिश्व कलाकार संघलाई २ सय ५० युरो सहयोग हस्तान्तरण गरेको छ।

स्मरण रहोस् नेपाली पाठशालाको सुरुवात निता अधिकारी,केशरी श्रेष्ठ नेम्कुल.निलु अवाले श्रेष्ठ,बिष्णु रानाभाट,जमुना सापकोटा र सरला सापकोटाको पहलमा घरमा नै कक्षा संचालन गरेर सुरुवात भएको थियो।