स्पेनमा राजदूत रायमाझीलाई स्वागत


बार्सिलोना/ राजदूत भरत बहादुर रायमाझीलाई स्पेनबासी नेपालीहरुले स्वागत गरेका छन्। स्पेनका लागि पहिलो नेपाली राजदूतका रुपमा म्याड्रिड आएका रायमाझीलाई बुधबार स्वागत गरेका हुन्।

दूताबास स्थापनाका लागि स्पेनको नेपाली समुदायले एक दशक अघि देखि गरेको प्रयासको प्रंशसा गर्दै उनले नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्दता ब्यक्त गरे। राजदूत रायमाझीले भने,”दूताबास,एनआरएन,संघ संस्थाहरु र नेपाली समुदाय मिलेर नेपालको हितका लागि काम गर्नु पर्छ।”

एनआरएनए स्पेनले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत रायमाझीले नेपालमा लगानी भित्राउन र पर्यटन प्रवद्वनका लागि बिभिन्न कार्यक्रमहरु सहित अगाडि बढ्नु पर्नेमा समेत जोड दिए।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद अन्तर्गत युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले स्पेनबासीले लामो समय देखि गर्दै आएको प्रयास सफल भएको भन्दै खुशी ब्यक्त गरे। गिरीले भने,”दूताबास स्थापना पछि अब मुलुकको फाईदाका लागि सबै पक्षले हातेमालो गर्दै काम गर्नुपर्छ।”गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले राजदूत रायमाझीको स्वागत गर्दै दिल्ली स्थित स्पेनीस दूताबासमा परिबार पुनर्मिलनको प्रक्रियामा भोग्नु पर्ने समस्या बारे जानकारी गराए। उनले कुटनीतिक सम्बन्धलाई अझ बढी प्रगाढ पार्न र समस्या समाधानका लागि पनि अब स्पेनिस दूताबास काठमाडौमा खोल्नका लागि पहल गर्नु पर्ने बताए। कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

राजदूत रायमाझीको स्वागतको लागि स्पेनका सरकारी अधिकारीहरु बिमानस्थल पुगेका थिए। राजदूत निबास तथा दूताबास भवन भने अझै सम्म निश्चित भईसकेको छैन। झन्डै एक बर्ष अघि नेपाल सरकारले स्पेनमा राजदूताबास खोल्ने निर्णय गरेको हो। मन्त्रिपरिषको सिफारिस अनुसार राष्ट्रपतिले राजदूत नियुक्त गरेको महिनौ बित्दा पनि कार्यक्षेत्रमा पठाउन परराष्ट्र मन्त्रालय चुकेको भन्दै यस अघि आलोचना समेत भएको थियो।