स्पेनमा साहित्यिक माहोल झाँगिदै,


२८ जनवरी, म्याड्रिड

 

पासपोर्ट समाती दिल्ली पुर्‍यायो,

प्रोसेस भनेर दुबइ पुर्‍यायो,

भिषा भनेर लिबिया र सिरिया पुर्‍यायो,

डुङ्गा र लरी चढाई युरोप छिरायो,

८ लाखमा भनेको १४ लाख लिएर

आमा मलाई युरोप छिरायो।

……….

शरणार्थि बन्न बेल्जियम पुगेँ,

आर्मी बन्न फ्रान्स पुगेँ,

लुकी लुकी काम गर्न जर्मन पुगेँ,

कही कतै केही सिप लागेन आमा,

हार मानेर स्पेन पुगेँ,

म्याड्रिड निबासी रामकृष्ण पुडासैनीले माथिका हरफ सँगै युरोपको यथार्थता झल्कने लामो कबिता सुनाए। सधै जस्तो बहस र छलफलको बाताबरण बनेन,आईबार म्याड्रिडमा रहेका नेपालीहरुले यस्तै साहित्यिक रचनाहरु मार्फत मनका गुनासोहरु पोखे। कसैले कबिता मार्फत घर परिबार र देशलाई सम्झिए त कसैले आफ्नै भोगाईहरु सुनाए।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्पेन च्याप्टरको आयोजनामा रचना वाचनको कार्यक्रममा साहित्यप्रेमिहरु यसरी जुटेका हुन्।वार्षिक रुपमा ३–४ वटा साहित्यिक भेला गर्ने, साहित्यसम्बन्धी रचना प्रकाशित गर्ने उदेश्य सहित गठन भएको अनेसास स्पेन च्याप्टरले श्रीपञ्चमी तथा सरस्वती पूजाको अबसरमा दोस्रो रचना वाचन कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद युरोप क्षेत्रका उपसंयोजक एकराज गिरीले स्पेनमा नेपाली साहित्य समाज गठन भएकोमा खुशी ब्यक्त गरे। राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटाले समाज प्रति एनआरएनको सधैँ साथ र सहयोग रहने प्रतिबद्दता ब्यक्त गरे।

शारदा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न कार्यक्रमहरु बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भई रचनाहरु वाचन गरेका थिए। कार्यक्रममा अन्तराष्ट्रिय साहित्य समाजका अध्यक्ष पदम बिश्वकर्माले पठाएको शुभकामना सन्देश पढेर सुनाईएको थियो।स्पेनमा राजनीतिक,क्षेत्रीय,जातीय लगायतका संघ संस्थाहरुका बीच बिशुद्द साहित्यिक संस्थाको रुपमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) स्पेन च्याप्टरले सक्रियता देखाएको छ।