१६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लवलाई


पोखरा – १६ औं आहा ! रारा गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा खेलमा चार पटकको थ्रीस्टारलाई १–० गोल अन्तरले हराउँदै पुलिसले उपाधि जितेको हो । यो जितसँगै पुलिसले क्याराभान गोल्डकपसहित आहा ! रारा गोल्डकपको उपाधि छैटौं पटक जितेको छ । पुलिसले क्याराभान गोल्डकप, पहिलो, छटौ, सातौ र आठौ जितेको थियो । आठौ पछि पुुलिसले आठ वर्ष पछि  आहा राराको उपाधी जितेको हो ।

बिजेता पुलिसले ७ लाख १ हजार रुपैया सहित, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ । अघिल्लो हप्तामात्र मदन भण्डारी मेमोरियल गोल्डकप जितेको थ्रीस्टार भने उपबिजेतामै सिमित हुदै ३ लाख ५१ हजारसहित ट्रफी प्राप्त गरेको छ ।

पुलिसको जित दिलाउन सब्स्टीच्यूट खेलाडी राम बाजीले निर्णायक गोल गरे । अभिशेक रिजालको सट्टामा ८३ औं मिनेटमा मैदान छिरेका वाजीले निर्धारित ९० मिनेटको समयमा गोलरहित बराबरी भएपछि थपिएको कुल २० मिनेटको पहिलो हाफको ईञ्जुरी समयको दोश्रो मिनेटमा गोल गरेका हुन् । रवि पासवानको क्रसमा निरकुमार राईले दायाँ साइडबाट डि–बक्स नजिक मिलाई दिएको पासलाई गोलपोष्टको दिशा दिलाएका थिए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी रवि पासवान बने । उनले हिरो स्कुटर प्राप्त गरे । प्रतियोगिताको सर्वाधिक गोलकर्ता पुलिसका सुमन लामा र ह्याट्रिककर्ता थ्रीस्टारका विश्वास श्रेष्ठ बने । उत्कृष्ट स्ट्राइकरमा थ्रीस्टारका विश्वास श्रेष्ठ, उत्कृष्ट मिडफिल्डर थ्रीस्टारका सुनिल वल, उत्कृष्ट डिफेन्डर पुलिसका अजित भण्डारी, उत्कृष्ट गोलकिपरमा पुलिसका शत्रुघन चौधरी, उत्कृष्ट प्रशिक्षक पुलिसका अनन्तराज थापा भए ।

त्यस्तै, अनुशासित टिममा सुदूरपश्चिम ११ स्पोर्टिङ क्लव धनगडी पुरस्कृत भए ।