सरोकारवालाद्धारा ड्यामसाईडको स्थलगत अवलोकन


पोखरा । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १७ स्थित ड्यामसाईडको मंगलबार सरोकारवालाहरुले स्थलगत अवलोकन भ्रमण गरेका छन् ।

ड्याम साईड पार्कबाट फेवातालको किनारै किनार, पर्यटन वोर्डको कार्यालय, नगरपालिकाको अतिथि गृह (बन्दै गरेको मुख्यमन्त्री निवास), नेपाल प्रहरीको गुल्म हुदै फिर्के खोलामा रहेको पुलबाट जिल्ला अदालत अगाडि पुगेर पुनः सोहीबाटो फर्कि क्षेत्रिय सिंचाई कार्यालयमा रहेको नाग मन्दिर परिसरमा टुगिंएको थियो ।

ड्यामसाईड क्लबको आयोजनामा भएको सो कार्यक्रममा प्रतिनिधि सभाका सदस्य रविन्द्र अधिकारी, प्रदेश सांसद कृष्ण थापा, वडा नं. १७ का अध्यक्ष तिर्थराज अधिकारी, वडा नं. ६ का अध्यक्ष भरतराज पहारी, पर्यटन व्यवसायी गणेश भट्टराई, वच्चुराम तिवारी, प्याव्सन कास्कीका पुर्व अध्यक्ष चिनु रानाभाट, प्रहरी अधिकारीहरु, पत्रकार तथा स्थानिय वासिन्दाहरुको सहभागिता रहेको थियो।

भ्रमणका क्रममा सांसद अधिकारीले दुवै वडा अध्यक्षहरुलाई उक्त क्षेत्रको विकासको लागि कार्य थालनी गर्न अनुरोध गर्दै पैसाको चिन्ता नलिन समेत भनेका थिए ।

पर्यटन व्यवसायी गणेश भट्टराईले तालको किनारमा कम्तिमा पनि पैदल हिड्न मिल्ने बाटो बनाउनु पर्ने र ढल मिसाउनेलाई तुरुन्त कारवाही गर्नुपर्ने वताए ।

क्लबका अध्यक्ष पदमबहादुर ढकालले विगतमा जनप्रतिनिधि नभएको अवस्थाका यो क्षेत्रको विकास असम्भव जस्तै थियो अब भने जनप्रतिनिधिहरुको रोहवरमा छिटो विकास हुने विश्वास व्यक्त गरे ।

वडा नं. ६ र १७ को विचमा रहेको फिर्के खोलामा रहेको पुल फोहरको थुप्रो माथि रहेको, फेवातालमा सिधै ढल मिसिएको, तालको मापदण्ड विपरित सरकारी भवन वनाउन लागिएको, तालको छेउको मानववस्तीको अवलोकन गरेका थिए ।