बेल्जियम मेलामा “नेपाल” मुख्य आकर्षण


स्पेन । बेल्जियमको सबैभन्दा ठूलो पर्यटन मेलामा नेपालको स्टल प्रमुख आकर्षण बनेको छ । बुद्ध स्तोपा र प्यागोडा शैलीको मन्दिरले सजिएको नेपाली स्टलमा आगन्तुकको भीड लागेको छ । ६० औं संस्करणको ‘ब्रसेल्स होलिडे फेयर’मा ब्यानर, प्लेकार्ड, पोष्टर,पर्यटन प्रचार सामग्री नेपाली स्टलमा प्रदर्शन गरियो।

बेल्जियम स्थित नेपाली राजदूतावासको संयोजनमा, एनआरएनए बेल्जियम, नेपाली संघसंस्था र नेपाली समुदायले मेलामा देशको पर्यटन प्रवर्द्धनमा सघाएका छन् ।बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाले यसपटक मेलामा स्टल सजावटलाई ध्यान दिएको बताए । उनले भने, ‘प्यागोडा शैलीको मन्दिर र बुद्धको स्तुपा, चारैतिरबाट नेपाल लेखिएको दृश्यले धार्मिक, कला, संस्कृति र प्राकृतिक सुन्दरता झल्कदा स्टलमा धेरैको ध्यान केन्द्रित भएको पाइयो।’

बेल्जियमका फ्लामिस र फ्रेन्च वालोनी प्रदेशका पर्यटन मन्त्रीहरु समेत स्टलमा पुगेका थिए । बेल्जियमका मन्त्रीहरुलाई राजदूत थापाले ढाका टोपी उपहार समेत दिए।  दूतावासले आगन्तुकहरूलाई नेपाली परम्परागत चिया र कफीले सत्कार गरेको थियो ।नेपाल बेल्जियम फ्रेन्डसीप एसोसिएसनले मेलामा स्वयंसेवकहरु पठाएर नेपालको सहभागितालाई प्रभावकारी बनाउन सहयोग पुर्‍याएको छ। कयौं पटक नेपाल पुगेका र नेपालबारे बुझेका बेल्जिक स्वयंसेवकहरुले स्थानीयहरुले राखेको जिज्ञासा समाधान गरेका थिए । राजदूत थापा भन्छन्, ‘यसपटक हामीले नेपालबारे स्थानीयभाषामा नै बुझाउन सकेका छौं। नेपाल किन घुम्ने ? भन्नेबारे जिज्ञासा राख्नेहरुलाई प्रष्ट रुपमा बुझाउन सकेका छौं भन्ने लागेको छ।’नेपालका रक र सिद्धी संगीत समूहले उद्घाटन सत्रमा प्रस्तुति राखेका थिए । फेब्रअरी १ देखि सुरु भएर ४ तारिख सम्पन्न भएको मेलालाई झन्डै १ लाख ५० हजारले अवलोकन गरेको अनुमान छ।

यसैबीच ४० औ संस्करणको आन्त्रोप होलिडे फेयरमा पनि नेपालले पहिलो पटक सहभागिता जनाएको थियो। आन्त्रोपनमा जनवरी अन्तिम साता सम्पन्न मेलामा नेपालले सहभागिता जनाएको हो। उक्त मेलालाई ७३ हजार भन्दा बढी दर्शकले अबलोकन गरेका थिए। तस्वीर सौजन्य : राजेन्द्र रसाइली