जलकुम्भी झार फाल्ने अत्याधूनिक मेसिन नियमित सञ्चालनमा


पोखरा – फेवातालको जलकुम्भी झार फाल्ने गरी पोखरामा भित्र्याइएको मेसिनको औपचारिक सुभारम्भ गरिएको छ । प्रतिनिधिसभा सदस्य एबं पूर्व विकास समिति सभापति रबिन्द्र अधिकारीले मेसिनको औपचारिक उद्घाटन गरेका हुन् ।

उद्घाटनसँगै तालको जलकुम्भी झार फाल्ने अत्याधूनिक मेसिन नियमित सञ्चालनमा आएको छ । पोखराको गहनाका रुपमा रहेको फेवाताललाई बर्षेनी कुरुप बनाउने जलकुम्भी झार फाल्ने मेसिन क्यानडाबाट ल्याइएको हो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख र पोखरा महानगरपालिकाको ७५ लाख रुपैयाँ गरी १ करोड २५ लाख रुपौयाँ लागतमा मेसिन ल्याइएको पोखरा लेखनाथ महानगरपालिकाका फेवाताल संरक्षण आयोजना प्रमुख इन्जिनियर महेन्द्रबहादुर गोदारले जानकारी दिए । मिट ग्रुप प्रालिले ल्याएको यो मेसिनको तौल २ टन छ । ३६ फिट लम्बाई र ८ दशमलव ५ फिट चौडाई भएको मेसिनले एक पटकमा २ टन निकाल्न सक्छ ।

फेवातालबाट निकालिएको झार एक ठाउँमा जम्मा गरिने र यसबाट कम्पोस्ट मल बनाउने पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसीले बताए ।

मेसिन उद्घाटन समारोहमा बोल्दै सांसद अधिकारीले फेवातालको सौन्दर्यता जोगाउनका लागि मेसिनको सहि सदुपयोगमा ध्यान दिनुपर्ने बताए ।

नगरपालिकाले गत २०७४ वैशाख १९ गते जलकुम्भी लगायत झार व्यवस्थापनका लागि मेसिन खरिद गर्ने निर्णय गरेको थियो । मेसीन ल्याएसँगै जलकुम्भी झारका नाममा बर्षेनी खर्च हुने लाखौ रुपैया जोगिने भएको छ ।