सिरुमारानीलाई दर्शकको साथ, थिएटरमा बसेर नाटक हेर्न पाउँदा नौलो अनुभुती


राजाराम पौडेल,पोखरा – पोखरा थियटरद्धारा प्रदेश नं. ४ को पहिलो नाटकघरको रुपमा पोखराको ग्रैहापाटनमा स्थापना गरेको गन्धर्व नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भइरहेको छ । फागुन २ गते औपचारिक उद्घाटन गरी नाटक मञ्चन सुरु गरिएकोमा बिहिबारबाट भने सर्वसाधरणका लागि नियमित नाटक मञ्चन सुरु भएको छ । विगतमा पोखरा उद्योग वाणिज्य संघको हल, पोखरा सभागृह हल लगायतका ठाउँमा नाटक देखाउँदा हल व्यवस्थापन राम्रो नहुँदा निकै सकसपुर्ण तरिकाले नाटक हेर्न बाध्य बनेका नाट्यप्रेमीले थिएटरमा बसेर नाटक हेर्न पाउँदा नौलो अनुभुती गरे ।

निर्धारित समयमा नाटक शुरु हुने, अनि शान्तपुर्वक थिएटर हलमा बसेर रंगकलाकारको अभिनय हेर्न पाउँदा उनीहरु उत्साहित देखिन्थे । नाटकमा विभिन्न भुमिकामा देखिएका कलाकारको अभिनय क्षमता, उनीहरुको गेटअपले दर्शकलाई आर्कषित गर्छ ।

१८ वर्षपछि रंगमञ्चमा फर्किएका माओत्से गुरुङको उपस्थितीले सिरुमारानी नाटकलाई परिपक्क बनाएको अनुभुती सबैले गरे । माछे पात्रको रुपमा देखिने माओत्से गुरुङको अभिनयले दर्शकको ध्यान खिचिरहन्छ । नाटकको मुख्य पात्रको रुपमा देखिएकी बविता मल्ल ठकुरीले विभिन्न भुमिकामा गरेको उत्कृष्ट अभिनय हेर्दा उनी भर्खरै नाट्य क्षेत्रमा डेब्यु गरेकी कलाकार हुन् भन्दा दर्शकलाइृ पत्यार लाग्दैन । किनभने मुख्यपात्रको रुपमा उनले नाटकको मुख्य विषयवस्तुलाई बुझाउन निकै मेहनत गरेकी छन् । पोखरेली नाट्य क्षेत्रमा स्थापित बनीसकेका प्रकाश घिमिरेको युवा जोश देखाउदै रोमान्टिक प्रस्तुतीले उनको बुढ्यौलीपनालाई चटक्कै बिर्साइदिन्छ । माया, प्रेम, मिलन विछोडको समिश्रण भएको नाटकमा विष्णु गौतमले आफ्नो उमेर भन्दा निकै पाको भुमिका निभाउदै नाट्य क्षेत्रमा कमव्याक गरेका छन् । धनबहादुर गायकको वाजाको धुन अनि नाटकमा प्रयोग गरिएको गीतसंगीतले पोखरेली रगंमञ्चलाई माया गर्नेहरुको नाट्य तृष्णा मेटाउने थप खुराक बन्छन् ।


विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङ गरिब ढाक्रेको भुमिकमा देखिदा होस् वा महामन्त्रीको रुपमा देखिदाँ कथालाई न्याय गरेका छन् । सेनापती बनेका रमेशबाबु तिमिल्सिना सँगै रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जू दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसूना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बी. सी., सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतका कलाकारको अभिनयले स्टेजतर्फ मात्र दर्शकलाई ध्यान केन्द्रित गर्न वाध्य बनाउँछ । झण्डै दूई घण्टा लामो नाटकले छिनमा हसाँउछ । छिनमा रुवाउँछ । घरी गम्भीर बनाउँछ । नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभुषाले दर्शकलाई आर्कषित गर्छ । नाटक घरमा नाटक हेर्नुको मज्जाले नाटकघरको आबश्यकतालाई प्रष्ट्याउँछ ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा नाटकको निर्देशन सोमनाथ खनालले गरेका छन् भने थियटरका अध्यक्ष परिवर्तनको संयोजन छ ।

फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुनेछ । शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ । विद्यार्थीको हकमा एक सय दरको टिकट लाग्नेछ । फागुन ४ गते शुक्रबार दिउँसो १ बजे र ५ गते शनिबार दिउँसो १ बजे हुने अतिरिक्त सो लाई भव्य बनाउने तयारी थिएटरले गरेको छ । पर्याप्त पार्कीङको व्यवस्था, पोखराको व्यस्तबजारबाट नजिकै शान्त वातावरणमा रहेको नाटकघरले तहाँ पुग्नेलाई सहजता प्रदान गर्दै पोखरेली रंगमञ्चको बारेमा सोच्न बाध्य गराउँदछ । अनि नाट्यप्रेमी भन्छन् ‘नाटक हेर्ने नै हो भने त पोखरा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरमानै जाउँ’ ।