माओत्से १८ वर्ष पछि ‘माछे’ बनेर देखिए


राजाराम पौडेल, पोखरा – एक हातमा जाल लिएर, साइडमा पेरुङ्गो भिर्दै ‘माछे’ को गेटअपमा जब माओत्से गुरुङ रंगमञ्चमा देखिन्छन् । दर्शकको ध्यान उनीतर्फ खिचिन्छ । कहिले चलचित्रको पर्दामा, कहिले म्युजिक भिडियोमा, यसरीनै रगंमञ्चमा पनि पटक–पटक देखिएर अधिकांश माझ परिचित बनिसकेकाले माओत्सेप्रति दर्शकको आशा हुनु स्वभिाविकनै हो । ‘ओ हो माओत्से पनि रहेछन्, पक्कै नाटक राम्रै हुनुपर्छ’ केहि दर्शकले मुख खोलिहाल्छन् पनि । दर्शकको आशालाई निराशामा परिणत हुन नदिन सजग छन् उनी । अनि पोखरा थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन भइरहेको नाटक ‘सिरुमारानी’ मार्फत उनले आफ्नो अभिनय कलालाई बेजोडका साथ पस्कन्छन् । घरी हसाँछन् । घरी रुवाउँछन् । अभिनयको माध्यमबाट दर्शकको अपेक्षा गरेको भन्दा बढी सन्तुष्टि दिलाउन उनी सफल हुन्छन् । यसले नाटकलाई परिपक्क समेत बनाउँछ ।


१८ वर्षपछि रंगमञ्चमा फर्कन पाउँदा उत्साहित बनेका उनी दर्शकको मायाले हौसीएका छन् । नाटक प्रति रुचि भएकै कारण पोखरा थिएटर निर्माण हुन लागेकोमा उनी खुशी थिए । पोखरा थिएटरसम्म माओत्से आउनुमा उनको नाटक प्रतिको लगाव मुख्य थियो । एक दिन थिएटरका अध्यक्ष परिवर्तनले मिटिङमा बोलाए । अन्य नाट्यकर्मीसँग पनि उनको भेट भयो । त्यस लगत्तै निर्देशक सोमनाथ खनालले माओत्सेलाई फोन गरे । नाटकमा अभिनय गर्ने प्रस्ताव खनालको थियो । माओत्से निर्णय दिन हतारियनन् । टिमको बारेमा बुझे । जब अग्रज कलाकार प्रकाश घिमिरे समाबेश हुने कुराले उत्साहित बनायो । नाटकमा अभिनय गर्ने निचोडमा पुगे । समय मिल्दैन कि भन्ने डर थियो । तर उनलाई अनुकुल हुने गरी समय मिलाइयो । यसरी रंगमञ्चमा उत्रन उत्साहित बनेका उनको रहर पुरा भयो ।


नाटक मञ्चनसँगै पोखराको नाट्य क्षेत्रले गती लिन लागेकोमा उनी खुशी छन् । तर नाट्य क्षेत्रलाई अगाडी बढाउन सहज भने नभएको उनको बुझाइ छ । ‘थिएटर निर्माण र नाटक मञ्चनले मात्रै पोखरेली रंग क्षेत्र अगाडी जान सक्दैन, गुणस्तरिय नाटक मञ्चनले मात्र नाट्य क्षेत्रलाई समृद्ध बनाउँदछ ।’ उनले भने ।
हुन त कास्कीको स्याक्लुङमा जन्मिएका माओत्सेकोे २०४७ मा ‘पञ्च’ नाटकमा अभिनय गरेर रंगमञ्चमा आगमन भएको हो । त्यस लगत्तै परित्याग, हारेका मान्छेहरु, क्रिया याने नाम सर्वनाम विशेषण, भिक्षाम देहि, मलामी लगायतका डेढ दर्जन नाटक मार्फत उनी रंगमञ्चमा देखिए । २०५६ मा मलामी नाटकमा अभिनय गरे पश्चात उनले अभिनय गर्ने अवसर पाएका थिएनन् ।
दिर्घजिवी नाटक समुहमा आवद्ध रहेर नाटक मञ्चन गर्न शुरु गरेका गुरुङको यो क्षेत्रमा लोकप्रियता बढाउन प्रतिबिम्ब नाट्य समुहको साथ उलेख्य रहेको छ ।


नाटक बाट अगाडी बढेको उनको यात्रा वि.स.२०५१ सालमा पोखराबाट निर्माण गरिएको चलचित्र ‘काडाँ’ बाट चलचित्रको क्षेत्रमा पनि भयो । अचम्मै भो, पैतिस दिन, मलामी, यो कस्तो कथा, कबडी कबडी, पुरानो डुङ्गा, दोष, अग्निदहन, मिस्टर झोले लगायतका चलचित्रमा उनले अभिनय गरिसकेका छन् ।


गुरुङ चलचित्र रि च्हमी, ध्रि धीब्रै व्यथा आङी, कृपा, पाते २, मले क्यु लगायतमा समेत उनले अभिनय गरे । गुरुङ फिल्म एशोसियसन नेपाल (जिफान) का संस्थापक अध्यक्ष समेत रहेका उनले फिल्मको लागि कथा समेत आफै लेख्छन् । २०६२ मा अचम्मै भो चलचित्रबाट चलचित्र निर्देशन शुरु गरेका उनले एक दर्जन चलचित्र निर्देशन गरिसकेका छन् । टुक्रिएको सपना, दलन टेलीसिरीयल मार्फत देखिएका उनले कर्णदासको पुरानो डुङा र मान्छे नै हो गरीब, ब्रोसीस समुहको यति राम्रो, रामचन्द« काफ्लेको गोठमा हे¥यो भैसी छ, लगायतका म्युजिक भिडीयोमा समेत अभिनय गरिसकेका छन् । अब रंगमञ्चमा निरन्तर देखिने योजना उनले बनाएका छन् ।