पत्रकार देखि कुटनीतिज्ञसम्म ।


प्रकाश ढकाल, कोपनहेगन ।

पर्वत स्थित स्कुलमा त्यतिबेला समय समयमा गोरखापत्र पत्रिका उपलब्ध हुने हुँदा स्कुले जीवनमा गोरखापत्र पढ्ने बानी परेको उनलाई गोरखापत्रमा आउने समाचार र लेखहरुबाट स्कुले जीवनमा नै निकै प्राभावीत बनेका थिए । सायद त्यहि नै जीवनको एउटा पाटो थियो जसले उनलाई पत्रकारीतातर्फ डोहोर्यायो । स्कुले जीवन सकिएपछि क्याम्पस अध्ययनको सिलसिलामा पनि उनी पत्रकारीतातर्फ आकर्षीत बने र लेखहरु लेख्न थाले । अंग्रेजीमा समेत लेख लेख्ने हुँदा, त्यहि आँफुले लेखेको लेख पत्रिकामा छाप्नको लागी  दिन जाँदा- ‘द राइजिङ्ग नेपाल’ मा जागीर खुलेको खबर उनले थाह नपाएका भए सायद उनी आज यहाँसम्म आइपुग्ने पनि थिएनन् । पत्रकारीता हुँदै कुटनीतिक क्षत्रमा हालै आएका व्यक्ती हुन्- महामहीम राजदुत युवनाथ लम्साल । उनी हाल डेनमार्कको लागि राजदुतको रुपमा रहेका छन् ।

वि. स. २०४२ सालमा पत्रकारीता शुरु गरेका उनले वि. स. २०४५ सालमा राइजिङ् नेपालमा सातौं तहको जागीर बाट क्यारियर शुरु गरेका लम्साल पूर्णतया व्यवसायीक रुपमा पत्रकारको रुपमा आफुलाई उभ्याएका थिए । अंग्रेजीमा राम्रो दख्खल भएका लम्साल आंफुले लेखेको लेख पत्रीकामा  दिन जाँदा तात्कालीन सम्पादकले- ‘जागीर खुलेको छ आवेदन दिनु’ भने संगै आवेदन दिएको र लिखीत र अन्तर्वार्ता दुवै परिक्षामा सफल भएपछि औपचारीक रुपमा आँफुलाई पूर्णतया पत्रकारीता तर्फ लगेको बताए । त्यो दिन सम्झंदै उनी भन्छन ”सायद त्यो दिन पत्रिकामा पत्रिकामा छाप्नको लागी  दिन नगएको भए सायद आज यो ठाउंसम्म पनि आउने थिएनन् होला” । पत्राकारिता क्यारियरको सिलसिलमा गोरखापत्र संस्थानको उच्च तहमा पुग्न सफल उनी अब कुटनीतिक क्षत्रमा आँफुलाई उभ्याउँदै छन् ।

उनले हालसम्म अन्तर्राष्ट्रिय राजनीती र विदेश निती सम्बन्धी करीब पांच सय लेख लेखिसकेका छन् । यसैकारण पनि उनी कुटनीतिक क्षत्रका जानकार मानिन्छन ।

पर्वत जिल्ला घर भएका लम्साल उच्च अध्ययनको सिलसिलामा पृथ्वीनारायण क्याम्पस पोखरा हुदै त्रीचन्द्र क्याम्पस र त्यसपछि त्रिबुवन विश्वविधालयबाट अंग्रेजीमा स्नाकोत्तर सकेपछि नेपाल प्रेस इन्स्टिच्युटबाट एक वर्षे पत्रकारीताको तालीम सकाए पछि पूर्णतया पत्रकारिता तर्फ आँफुलाई आकर्षीत गरेका थिए । यसैगरी वि.स. २०५५ सालमा समाचार संस्था तथा पत्रकारिता तालीम केन्द्र रोयटर्सबाट प्रशिक्षण, अमेरिकाको न्युयोर्क विश्वविधालय र युनिभर्सिटी अफ हवाईको संयुक्त प्रशिक्षणमा उनले ‘कनफ्लीक्ट रिपोर्टीङ्ग’ मा तालीम र त्यसैमा ‘पत्रकारहरुको सुरक्षा कसरी गर्ने’ भन्ने विषयमा तालीम लिएका थिए । यी पत्रकारीता सम्बन्धी तालीम र शिक्षाले उनी नेपाली पत्रकारीताको क्षत्रमा एउटा खारिएको र एक होनाहार पत्रकार भएर निस्केका थिए । अझै अमेरिकामै संसदको रिपोर्टीङ् सम्बन्धमा प्रतक्ष देखेर, अनुभव समेत गरेर संसदको रिपोर्टीङ्गमा समेत आँफुलाई अभ्यस्त बनाएका लम्साल अमेरिकी संसदको चुनाव र संसदले राष्टपती चुन्ने विषयमा जानकार मानिन्छन ।

प्रशिक्षणको सिलसिलामा जर्मन रहंदा युरोपको विकास र यहाँको विश्वकुटनिती सम्बन्धी विषयमा उनले बुझ्ने मौका पाएका थिए । यसैकारण पनि उनी कुटनीतिक क्षत्रका जानकार मानिन्छन । उनी डेनमार्कको लागि राजदुत कसरी बन्न पुगेको  भन्ने कुरा पनि रोचक छ । उनी केहि कामको सिलसिलामा चीन भ्रमणमा रहेको समयमा उनलाई एकजना साथीको सन्देश आयो, सन्देशमा लेखिएको थियो ”राजदुत बन्नु भयो बधाई छ” । पहिला त उनलाई विश्वास नै लागेन तर पछि पररास्ट्र मन्त्रालयका उच्च अधिकारीलाई फोन सम्पर्क गरेपछि त्यो खबर साँचो भएको पुस्टि भएको थियो ।

यसरी पत्रकारीता क्षत्रमा लागेको व्यक्ती कसरी राजदुत बन्न पुग्नु भयो त भन्ने सवालमा उनी भन्छन ” मेरो नियुक्ती खासगरी राजनैतीक किसिमको हुन गयो र मेरो सम्बन्ध सबै राजनीतिक पार्टीका नेताहरुसंग त्यस्तो नराम्रो छैन राम्रै छ, एमाले, कांग्रेस, माओवादी लगायत सबै पार्टीका नेताहरुसंग राम्रै सम्बन्ध भएकोले पनि हुन सक्छ र र डेनमार्कको विकास नियोग डानीडासंग मिलेर पहिल्यै पनि काम गरिसकेको हुनाले मलाई विश्वास गरिएको हुन सक्छ ”।
हुन पनि हो, समाचारमा आए अनुसार उनको राजदुत बन्ने सिफारिस सहितको प्रस्तावीत नाममा संसदीय समिति लगायत कहिँपनि विरोध भएको थिएन सबै पक्षको स्वीकार्य बनेका थिए लम्साल ।

अब राजदुत भएर गर्ने कार्ययोजना सुनाउदै उनले भने ” हो डेनमार्क सरकारले आफनो दुतावास नेपालबाट हटाए पनि नेपालको महत्व अन्तर्राष्ट्रिय क्षत्रमा घटेको छैन, अब विश्वशक्ती एशियामा सर्दै छ , अनि केन्द्रित हुँदै छ, यस परिप्रेक्षमा नेपालको महत्व झन् बढ्ने देखिन्छ” यसैको पेरिफेरीमा आफुले काम गर्ने बताए । अहिले संसारको शक्ति हाम्रै छिमेकी देशहरु भारत र चाइनामा आकर्षीत छ भने नेपाल त्यसबाट अछुतो रहन सक्दैन । अब यसलाई अवसरको रुपमा लिन सक्नु पर्ने उनले बताए र यसै कुरालाई केन्द्र बनाएर आफुले कार्ययोजना अगाडी बढाउने पनि उनले बताए । पछिल्लो समय डेनमार्कले नेपाललाई दिने सहयोग पुरै सुन्यमा झारेको र दुतावास समेत काठमाडौँबाट हटाएको हुँदा यसलाई कसरी हुन्छ नेपालसंगको सम्बन्ध पहिलेको जस्तै मजबुत बनाउनु आफनो पहिलो प्रयास रहने उनले बताए । अर्को कुरा डेनमार्कबाट सिक्न सक्ने कुराहरु धेरै भए पनि नेपालको संदर्भमा ‘सिक्स टी’ अर्थात ट्रेड, टुरिजम, टेक्नोलोजी, ट्रान्सपरेन्सी,ट्रान्सपोर्ट र ट्याक्स । यी कुराहरुमा थोरै मात्र पनि नेपालमा लागु गर्न सकियो भने देशमा एउटा सिस्टम बसाल्न मद्धत सकिनेमा उनी विश्वस्त देखिन्छन ।

डेनमार्कको कर प्रणाली निकै सराहनीय रहेकोले यस्तै नभए पनि यहि रुपको तर नेपाललाई सान्दर्भीक हुने किसिमको प्रणाली बनाउन खासै कठिनाइ नहुने उनले दावी पनि गरे । यसको लागि आफुले प्रस्ताव बनाएर नै नेपाल सरकार समक्ष प्रस्तुत गर्ने पनि उनले बताए ।

त्यसैगरी डेनमार्क र नेपालको सम्बन्ध बढाउँन जनता जनता बीच पनि सम्बन्ध बनाउनु आवश्यक रहेको उनले बताए । नेपालको जस्तो देशको लागि यो उपयुक्त हुने पनि उनले बताए । जस्तो की डेनमार्कको कुनै शहर नेपालको कुनै शहर बीच एक भगीनी सम्बन्ध बनाएर होस् या नेपाली डेनिशहरुको एउटा ‘नेपाल सपोर्ट ग्रुप’ बनाएर होस् या त्यहि सपोर्ट ग्रुपले यहाँको डेनिश संसदमा गएर अनुरोध गर्ने किसिमको कार्यक्रम आयोजना गरी सम्बन्ध पहिलेको जस्तै बनाउन आफुले पहल गर्ने पनि उनको योजना छ । उनले भने ”योजना राम्रा अनि धेरै छन् तर अबको यो चार वर्षको कार्यकालमा कतीसम्म गर्न सकिन्छ हेरौं”।

यसरी पत्रकार देखि कुटनीतिज्ञ सम्मको यात्रामा आफनो जिम्मेवारी सफलतापुर्वक पुरा गरेका लम्साल अबको उनको नयाँ जिम्मेवारी कसरी पुरा गर्छन सबैको चासो त् छ नै । यस अघिका सबै मिसनमा सफल मानिएका उनी अब अहिलेको मिसन सफलतापुर्वक र परिणाममुखी रुपमा पुरा गर्नेमा ढुक्क देखिन्छन । नेपालजस्तो सानो र विकासोन्मुख देशको साधन र स्रोत सिमित हुने भए पनि त्यहि उपलब्ध साधन र स्रोतको अधिकतम प्रयोग गरी परिणाम दिने खालको कार्य गर्नमा आफुले जोड दिने उनले बताए । डेनमार्कको मात्रै नभई स्क्यांडेनेभियन देशहरु स्विडेन, नर्वे, फिनल्याण्ड, अनि अर्को युरोपेली मुलुक लात्भिया लगायतका मुलुकहरुको पनि राजदुतको जिम्मेवारी आफुले पाएकोले यी देशहरुमा रहने नेपालीहरुको सेवा गर्नु प्रमुख दायीत्व भएकोले एउटा अभिवावकको रुपमा आफुले भूमिका निभाउने समेत उनले बताए ।

तस्वीर स्रोत: महामहिम राजदुत युव नाथ लम्सालको फेसबुकबाट