बिश्व संजालभित्रको आवाज :-“एनआरएन टक”


२४ फ्रेबअरी,बार्सिलोना, 
झन्डै ५० लाख नेपालीहरु बैदेशिक रोजगार,अध्ययन लगायत विविध कारणले प्रबासमा रहेको अनुमान गरिन्छ। प्रबासी जीवन बिताईरहँदा डायस्फोराभित्रका गतिबिधिलाई समेटेर कार्यक्रम “एनआरएन टकको” उत्पादन गर्ने सोच बनाएका हौ।  

नेपाली मुलको बिदेशी नागरिक वा दुई बर्ष भन्दा बढी नेपाल सरकारबाट खटिई विदेश स्थित नेपाली नियोगमा बाहल रहेको,विदेश स्थित शिक्षण संस्थामा अध्ययन गरिरहेको नेपाली नागरिक र दक्षिण एसियाली सहयोग संगठन अन्तर्गतका मुलुकहरु बाहेक अन्य देशहरुमा पेशा,रोजगारी वा बसोबास गर्ने नेपाली नागरिकलाई गैर आबासीय नेपाली भन्ने गरिएको छ।

तसर्थ सरसर्ती हेर्दा प्रबासमा रहेका नेपालीहरु गैर आबासीय नेपाली वा एनआरएन हुन् भन्दा फरक पर्दैन। उनीहरुसँगको कुराकानी वा अन्तरमनको आवाज पोख्ने हुँदा कार्यक्रमको नाम नै “एनआरएन टक” राख्दा उचित हुने ठहर गर्यौ।

गैर आबासीय नेपालीहरुको हितको पक्षपोषण गर्न संगठित रुपमा आवद्व सामाजिक  संस्था गैर आबासीय नेपाली संघ (एनआरएनए) ले  एक दशक भन्दा लामो यात्रा पार गरिसकेको छ। स्वतन्त्र,गैर नाफामुलुक,गैर राजनीतिक, गैर सरकारी एक संघको रुपमा गैर आबासीय नेपाली संघले आँफूलाई व्याख्या गर्दै आएको छ।बिदेशमा बस्ने नेपालीहरुलाई एकजुट गराउने,नेपाल भित्र र बाहिर उनीहरुको हितलाई प्रवद्वन गराउने र नेपालको हितमा उनीहरुको योगदानलाई परिचालन गर्ने एक गैर नाफामुलक संस्थाको रुपमा ब्याख्या गरिदै आएको छ।

गैर आबासीय नेपालीहरुको पूजी र नेपालको चौतर्फी बिकासमा लगानी गर्न नेपाल सरकार र नेपाली उद्दमीहरुसँग साझेदारी गर्ने, नेपालको संस्कृति र प्रर्यटनको प्रर्वद्वन गर्ने, बिदेशी लगानीलाई नेपालभित्र आकर्षण गर्ने,सुरक्षित बैदेशिक रोजगार र समग्र हितका लागि क्रियाशील रहने संस्थाको उदेश्य रहेको बताईन्छ। आफ्नो उदेश्य अनुरुप नै संघ अघि बढिरहेको छ त ? सरोकारवालासँग हाम्रो प्रश्न रहने छ।

एनआरएनका मेगा प्रोजेक्टहरु लाप्राक नमुना बस्ती,एनआरएन भवन,शंखमूल पार्क,उज्यालो नेपाल,एनआरएन फाउन्डेसनका लगायतका गतिबिधिहरुसँगै प्रगती र चुनौतिको बिषयमा पनि कार्यक्रममा छलफल गर्ने छौ। नेपाल प्रमोशन,ट्रेड एण्ड ईन्भेष्टमेन्ट,वुईमन ईमपावर मेन्ट,एनआरएनए एकाडेमी,युथ एण्ड स्पोट लगायत संघका बिभिन्न समिति,उपसमिति तथा टाक्सफोर्सका गतिबिधिहरुलाई पनि सुक्ष्म ढङ्गले केलाउने छौ।  

एनआरएनए प्रतिको सोच सकारात्मक र नकारात्मक दुवै किसिमको भेटिन्छ। बेलाबखत बिभिन्न टिका टिप्पणीहरु पनि सुनिन्छन्। संघ भित्र दिनानुदिन बिकृतिहरु बढ्दै गएको कतिपयका गुनासाहरु भेटिन्छन्। बिशेष गरी बिश्व सम्मेलन लगायत बिभिन्न बैठक तथा छलफलमा हुने खर्चलाई अनाबश्यक रुपमा ठान्नेको संख्या पनि बढ्दै गएको पाईन्छ। संघ भित्र गुट उपगुट बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्ने पनि भेटिन्छन्। प्रबासमा रही सामान्य मजदुरी गरी जिबिकोपार्जन गर्ने गैर आबासीय नेपालीहरुले संघलाई कसरी बुझेका छन् ? उनीहरुको धारणा के छ ? कसरी परिमार्जित गर्नु पर्ला ? सुझाव सहित बेलाबखत उनीहरुका आबाजलाई पनि कार्यक्रममा प्रस्तुत गर्ने छौ।

उद्घोष गरेका कामहरु समयमा पुरा गर्न नसक्ने,प्रतिबद्दता वा घोषणापत्रमा उल्लेख भए अनुसार प्रगति हुन नसक्नु,बिभिन्न चरणमा सहयोगका लागि प्रतिबद्दता वा बोलेको रकम बुझाउन नसक्नु लगायत आर्थिक पारदर्शिताका प्रश्नहरु संघ भित्र बेला बखत उठ्दै आएका छन्। सम्बन्धित पक्षसँग प्रश्नहरु तेर्साउँदै  यथार्थता बाहिर ल्याउने प्रयास कार्यक्रमको रहने छ।

“एनआरएन टक” अन्तराष्ट्रिय समन्वय परिषदसँग मात्र केन्द्रित रहने छैन। एनआरएनको संजाल ७८ देशहरुमा फैलिसकेको छ। बिभिन्न राष्ट्रिय समन्वय परिषदहरुसँग कुराकानी हाम्रो कार्यक्रमको मुख्य केन्द्र बिन्दु नै बन्नेछ। बिभिन्न देशहरुमा रहेका नेपालीहरुका समस्या,गतिबिधिहरुलाई समेट्ने छौ।

गैर कानुनि रुपमा युरोप,अमेरिका छिर्नकै लागि बिचौलियालाई मोटो रकम बुझाएर अलपत्र परेका युवाहरुको संख्या झनै बढेको पाईन्छ।कतिपयले गैर कानुनि रुपमा जोखिमपूर्ण यात्रा गर्दा  ज्यान समेत गुमाएका छन्। मानवतस्करहरुले दिएको झुटो आश्वासन,युवाहरुले देखेको सपना र यथार्थतालाई पिडितहरुसँगको कुराकानीबाट बाहिर ल्याउने कोशिस गर्ने छौ। नेपाल सरकारका विदेश स्थित नेपाली नियोगबाट बढ्दो मानवतस्करका घटनालाई रोक्न कस्तो प्रयास भएको छ वा यो बारे अनबिज्ञ छ,सम्बन्धित निकायका अधिकारीहरुसँगको कुराकानी पनि कार्यक्रममा प्रस्तुत गर्ने छौ।

माथि उल्लेख गरिरहेका बिषयबस्तु धेरै तथा फरक-फरक भए पनि समग्र रुपमा गैर आबासीय नेपालीहरुसँग नै सम्बन्धित छन्। कार्यक्रम एनआरएनए सँस्थासँग मात्र केन्द्रित छैन समग्र एनआरएनहरुसँग जोडिएको छ त्यसैले कार्यक्रमको नाम नै “एनआरएन टक” राख्न उपयुक्त ठानेका हौ।

प्रबिधिले धेरै सहज बनाईदिएको भए पनि बिभिन्न मुलुकमा नै पुगेर भिडियो अन्तरबार्ता गर्ने क्षमता हामीसँग छैन। मुलत: अडियो अन्तर्वार्तालाई नै समेटेर कार्यक्रम उत्पादन गर्ने छौ। तर बेलाबखत “एनआरएन टक” लाई भिडियोमा पनि देख्न्न सक्नु हुनेछ।

नेपालीनेपाली डटकम,नेपाल स्विस डटकम,नेपाल बृटेन डटकम,नेपाल जापान डटकम,साईग्रेस प्रोडक्सन,नेपाल दुबई डटकम र द राईज नेपाल डटकमले अफिसियल मिडिया पार्टनको रुपमा साथ दिएका छन्।यसका लागि कृतज्ञता र आभारी छौ।

हामीले हरेक कार्यक्रम र गतिबिधिहरुलाई अफिसियल मिडियाहरुमा एकै साथ प्रस्तुत गर्ने छौ। एनआरएन टकको प्रोडक्सनमा पत्रकार हिरालाल श्रेष्ठ र प्रस्तोतामा बसन्त रानाभाट रहेका छन्। यहाँहरुको अपार माया र साथको अपेक्षा सहित।

  • “एनआरएन टक” टिम