मजदुरका हक हित कायम गराउन राज्य उदार बन्नुपर्नेमा जोड


पोखरा – नेपाल कारखाना मजदुर संघ कास्कीको छैटौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा मजदुरका हक हित कायम गराउन राज्य उदार बन्नुपर्नेमा जोड दिइएको छ । राज्यले विभिन्न किसिमका परिवर्तनलाई पार गर्दै वर्तमान अवस्थामा आइपुगे पनि मजदुर वर्गका पीडा व्यथा उही ठाउँमा रहेको बताउँदै वक्ताहरूले समाज एवम् राज्य निर्माणको सम्बाहक जस्तै बनेका मजदुरका हक हितका लागि सरकारको स्पष्ट नीति हुनुपर्ने बताए ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं ४ का अध्यक्ष मुरारी शर्माले वर्तमान अवस्थासम्म पनि अधिकांश स्थानमा मजदुर वर्गले आफ्नो उचित पारिश्रमिक प्राप्त गर्न नसकेको बताउँदै त्यसका लागि राज्य स्तरबाटै स्पष्ट नीति तय हुनुपर्ने बताउनुभयो ।
मजदुर वर्गका हक हितको पक्षमा नेपाल ट्रेड युनियन काँग्रेस निरन्तर आवाज उठाउँदै आएको उहाँले बताउँनुभयो ।

नेपाल कारखाना श्रमिक संघ कास्कीका संस्थापक अध्यक्ष एवम् दुग्ध विकास संस्थान कर्मचारी संघका पूर्व केन्द्रीय अध्यक्ष हरिराम पौडेलले मजदुर सम्बद्ध संगठन समाजिक विकासका क्षेत्रमा पनि कृयाशिल बन्नुपर्ने बताउनुभयो । जुन सुकै संस्था वा निकायमा काम गर्ने मजदुरले काम गरेवापत न्युनतम जीवन निर्वाह गर्न सक्ने पारिश्रमिकको सुनिश्चितता अपरिहार्य भएकोमा उहाँले जोड दिनुभयो ।

नेपाल कारखाना श्रमिक संघ कास्कीका अध्यक्ष टेकनाथ पन्थीले कारखानामा काम गर्ने श्रमिकका हक तथा अधिकारका लागि संघ निरन्तर कृयाशिल बन्दै आएको बताउनुभयो । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष कुलदेवी बरालले सामाजिक रुपमा मजदुर बर्ग उपेक्षित बन्ने गरेको बताउँदै प्रत्येक मजदुरले आफ्नो काममा गर्व गर्दै आत्मसम्मानपूर्ण जीवन यापनको वातावरण तयार गरिनुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सदस्य एवम् प्रचार विभाग प्रमुख नवीन सिग्देल, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका सचिव केशवराज भट्टराई, मजदुर नेताहरू किरण अधिकारी, राजन अधिकारी, गीता चापागााइँ, सुरेन्द्र श्रेष्ठ लगायतले मजदुर वर्गको हक हितका लागि राज्य उदार बन्दै त्यही किसिमको कानुन तथा नीति नियम तयार गर्नुपर्नेमा जोड दिनुभयो ।