विग आईकनमा उत्कृष्ट ५, दिपेश भट्टचन बाहिरिए


पोखरा,  साउन २२-

 उत्कृष्ट ६ मध्येका एक प्रतिस्पर्धी दिपेश भट्टचन बाहिरिएपछि गायन रियालिटि शो सामसुङ ग्यालेक्सी ग्राण्ड निओ विग आईकनमा उत्कृष्ट पाँच प्रतिस्पर्धी बचेका छन् । विहिबार भएको अडिसनमा उत्कृष्ट पाँच प्रतिस्पर्धीले उत्कृष्ट चारका लागि प्रतिस्पर्धा समेत गरे । शनिबार उत्कृष्ट चार घोषणा हुनेछन् । त्यसपश्चात सोहि दिन उत्कृष्ट तीन का लागि प्रतियोगीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

उत्कृष्ट पाँच प्रतिस्पर्धीहरुमा ल्हामो डोल्कर, राम लिम्बु, सन्दिप ढुंगाना, सरिता अधिकारी र कुन्साङ गुरुङ रहेका छन् । प्रतियोगिताको गायन प्रस्तुती मूल्यांकन गरी आफुलाई मन परेका प्रतियोगीलाई शनिबार दिउँसो १ वजेसम्म भोट गर्न सकिनेछ ।
विहिबार प्रतियोगिताबाट बाहिरिएसंगै उत्कृष्ट ६ मा पर्न सफल प्रतियोगी दिपेश भट्टचनले विग आईकनमार्फत आफ्नो गायन तिखार्ने मौका पाएको सुनाए । उनले विग एफएम साँगीतिक प्रतिभाहरुका लागि निकै ठूलो मञ्च भएको उल्लेख गर्दै आगामी चरणमा पुगेका अन्य प्रतिस्पर्धीलाई सफलताको कामना समेत गरे ।
विहिबारको प्रतियोगितामा विग आईकनको मुख्य प्रायोजक सामसुङ ग्यालेक्सी ग्राण्ड निओको नेपालस्थित अधिकृत विक्रेता ईन्टरनेशनल मार्केटिङ सर्भिसेजका मार्केटिङ म्यानेजर पुस्कल खतिवडाको समेत विशेष उपस्थिती रहेको थियो । उनले प्रतियोगिता निकै शानदार रहेको उल्लेख गर्दै प्रतियोगीहरुलाई सफलताको शुभकामना दिएका थिए ।
विग एफएमले पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनाले आगामी भदौ सात गने हुने जानकारी दिएको छ । ग्राण्ड फिनालेका लागि आयोजक संस्था विग एफएमले तयारी तिव्र पारेको जानकारी दिएको छ । ग्राण्ड फिनालेमा हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य प्रमुख अतिथिको रुपमा रहनेछन् । ग्राण्ड फिनालेमा उत्कृष्ट १० प्रतिस्पर्धीहरुको प्रस्तुती समेत रहनेछ ।
साँगीतिक रियालिटि शो विग आईकनको निर्णायकहरुमा संगीतकर्मीद्वय श्यामसुङ तामाङ र सुनील थापा रहेका छन् । विहिबारको अडिसनमा गिटारिस्ट तथा अन्तराष्ट्रिय आर्चरी खेलाडी असिम शेरचन ‘पाहुना निर्णायक’को रुपमा सहभागि भएका थिए । उत्कृष्ट १० सम्मको अडिसनमा शत प्रतिशत निर्णायकहरुको भरमा रहेको प्रतियोगितामा त्यसपछि भोटिङको व्यवस्था रहेको छ । उत्कृष्ट १० पश्चात प्रतिस्पर्धीलाई अगाडि बढाउनमा ६० प्रतिशत अधिकार निर्णायकको रहनेछ भने ४० प्रतिशत स्रोताको एसएमएस भोटको हुनेछ ।
बिग आईकनको उपाधी जित्नेले १ लाख ६० हजार रुपैँया बराबरको पियाजिओ स्कुटरका साथै द ब्रिटिश कलेजको स्पोन्सरसिपमा एक हप्ते बेलायतको साँगीतिक टुरको मौका पाउनेछन् । यस्तै, दोस्रो हुनेले ७५ हजार रुपैँया र तेस्रो हुनेले ५० हजार रुपैँया बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।