पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाम्बेसँग ११६ रनले पराजित


काठमाण्डौ – आइसिसी विश्वकप छनोटअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ११६ रनले पराजित भएको छ । 

आइतबार जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको गुमाउँदै २ सय ६४ रन मात्र बनाउन सक्यो।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान सरद भेषवाकर र आरिफ शेखले अर्धशतक प्रहार गर्दै टिमलाई फराकिलो हारबाट बचाए। आरिफले ५९ बलमा ५ चौकासहित ५० रन बनाए भने शरदले ४८ बलमा ५२ रन जोडे।

नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा गुमाउँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे।

पारसले ३७ बल खेल्दै ८ चौकाहसित ४० रन प्रहार गरेका थिए। यस्तै ३२ बल खेल्दै २ चौकासहित दिलिपकुमार पौडेलले ३० रन बनाए।

दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे। ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए। उनले ५९ बलमा ३ चौका प्रहार गरे। बसन्त रेग्मीले २ रन बनाएर आउट भए भने सोमपाल कामीले १२ र सन्दिप लामिछानेले ७ रन बनाएर नटआउट रहे।

जिम्बाम्बेका लागि सिकन्दर राजाले ३ तथा ब्रियन भिटोरीले २ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रनको विशाल योगफल तयार गर्‍यो।

जिम्बावेका लागि २ ब्याट्सम्यानले शतकीय पारी खेले। सिकान्दर राजाले १ सय २३ रन जोडे भने सिकन्दरले ब्रेन्डरले १०० रन बनाए।

जिम्बावेका ओपनर सोलोमोन मिराले अर्धशतकीय पारी खेलेका थिए। उनले ४१ बलको सामना गर्दै ३ छक्का र ५ चौकाको मदतमा ५२ रनको पारी खेले। अर्का ओपनर सेफास झुआवले ४१ रनको इनिङ खेले।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भएका हुन्।

नेपालले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध पहिलोपटक एकदिवसीय खेल खेलेको हो।

आफ्नो समूहमा अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग पनि प्रतिस्पर्धा गर्ने नेपालले सहभागी १० टोलीमध्ये शीर्ष ६ मा पर्ने लक्ष्य लिएको छ।

समूह बीमा रहेको नेपाल समूह चरणको खेल पश्चात शीर्ष तीन भित्र रहन सके सुपरसिक्समा प्रवेश पाउँनेछ। यो सँगै नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछ।

त्यस्तो हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ठूलो उपलब्धि हात पार्छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले १३ देश सम्मिलित एक दिवसीय लिग प्रतियोगिता गराउने भनिरहेको छ। त्यसमा छनोट हुन सके देशभित्र र बाहिर गरी ३६ वटा सम्म म्याच खेल्न पाउँनेछ।

त्यसबाहेक क्रिकेट विकासका लागि आइसिसिले थप रकम पनि उपलब्ध गराउँछ। यदि डिभिजन १ मा नै रहिरहे कस्तो खालको प्रतियोगिताहरू खेल्न पाउँने त्यो अहिले तय भइसकेको छैन।

विश्वकप छनोट अन्तर्गत नेपालका अबको खेलतालिका:

  • नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
  • नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
  • नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब