गन्धर्व नाटकघरमा मान्द्रागोरा सर्कस देखाइयो, आइतबार दिउँसो १ बजे र साँझ ५ बजे देखाइने 


राजाराम पौडेल –  पोखरा पोखरा थिएटरको गन्र्धव नाटकघरमा शनिबार अर्जेन्टिनाको मान्द्रागोरा सर्कस देखाइयो । विना डाइलग देखाइएको यो सर्कसले उपस्थित दर्शकको मन जित्यो । अर्जेन्टिनाका कलाकार मारियाना सिल्भा र जुन क्रिउज वार्कामोन्टको कुशल अभिनयले सर्कस हेर्ने दर्शकको ध्यान सजिलै खिच्यो । उनीहरुले शरिरलाई आवश्यकता अनुसार कसरी कन्टोल गर्न सकिन्छ भन्ने कुरा प्रस्तुती मार्फत देखाए । हेर्दा अत्यन्त कठिन लाग्ने मुम्मेन्ट साह्रै सहज तरिकाले प्रस्तुत गर्दा दर्शक अचम्मित बने ।  बिना शब्दको प्रस्तुती भएपनि दर्शकले सहज तरिकाले बुझे । कलाकारको मुम्मेन्ट, हाउभाउ को अलावा  म्युजिक र लाइटले सर्कसलाई ओजनदार बनायो ।  टेक्निसियन आन्द्रे डाइजले दर्शकको ध्यान खिच्न आफ्नो प्राविधिक ज्ञान देखाइन् ।

विगत ८ वर्ष देखि विभिन्न देशमा निरन्तर देखाइएको यो सर्कस नेपालमा पहिलोपटक पोखरामा देखाइएको हो । यसरी सर्कस देखाउने मुलुकमा नेपाल ४४ औँ देश बन्न पुग्यो । मान्द्रोगोरा सर्कस आइतबार दिउँसो १ बजे र साँझ ५ बजे गरी  दुई सो मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले जनाए । नाटक प्रतिको दर्शकको उत्साहका कारण भोली आइतबारलाई दुई सो गर्नु परेको थिएटर अध्यक्ष कार्कीले जनाए । ५५ मिनेटको सर्कस हेर्न विद्यार्थीको लागि एक सय र सर्वसाधरणका लागि दुई सयको  टिकट लाग्नेछ । सबै उमेर समुहकाले हेर्न सक्ने सर्कसको विशेषता छ ।  लेट्स इन्टरटेनमेन्टको  प्रस्तुतीमा देखाइएको सर्कसलाई अर्जेन्टिानको मान्द्रागोरा सर्को कम्पनिले तयार पारेको हो ।

नाटक मञ्चन सँगै अर्जेन्टिनाको कलाकारको सहजीकरणमा नाट्य क्षेत्रको बारेमा कार्यशाला समेत पोखरामा भैरहेकोे पोखरा थिएटरका अध्यक्ष कार्कीले बताए । सर्कस फागुन २९ गतेबाट काठमाण्डौ लगायतका विभिन्न ठाउँमा मञ्चन हुनेछ ।  पोखरा थिएटरमा आगामी चैत्र ८ र ९ गते थाङ्ला तथा चैत्र १० र ११ गते एन्टिगोनी नाटक मञ्चन हुनेछ । साथै विश्व रंगमञ्च दिवसको अवसर पारेर चैत्र १३ देखि १५ गतेसम्म तीन दिने नाटक महोत्सवको आयोजना समेत पोखरा थिटरमानै हुदैछ ।