पोखरामा अन्तर्राष्ट्रिय स्तरका रेष्लरको घम्साघम्सी


राजाराम पौडेल,पोखरा – टेलिभिजनको स्क्रिनमा रेष्लिङ खेल हेरिरहेका दर्शक प्रत्यक्ष रेष्लिङ हेर्न पाउँदा उत्साहित थिए । आयोजकले पनि पोखरा रंगशालाको कर्भडहलमा जम्मा भएका दर्शकले रेष्लिङको वास्तविक मज्जा चखाउन गरेको तयारीले दर्शकलाई झनै आर्कर्षित गरायो । रेष्लरको परिचय देखि रेष्लरलाई रिङ सम्म ल्याउदा होस् वा रिङ भित्रको उनीहरुको घम्साघम्सीलाई रोचक बनाउन गरिएको प्रयासलाई दर्शकले रुचाए ।


हालै भएकाे प्रतियोगितामा नेपाल, भारत, अमेरिका, रसियाका रेष्लरहरुको सहभागिता थियो । नेपालको तर्फवाट नुवाकोटे टाईगर, ठाकु, डेभिड, साईन , ब्लेड, भिलेन, राम, रावण, टुप्पी ग्याङले प्रतिस्पर्धा गरे । उनीहरुले विदेशी रेष्लरसँग गरेको भिडन्त रोच थियो । दर्शकले चिच्याउदै रेष्लरलाई साथ दिए । अन्तर्राष्ट्रिय रुपमा प्रख्यात अमेरिकाका प्रोरेस्लर गेमर, भारतका मास्क म्यान, ड्यानी, आर डी एक्स, ज्थाक्स र नीलको पर्फमेन्सले दर्शकलाई लोभ्यायो । रसियाकी मेफिस्तोका साथमा नेपाली महिला रेस्लर दिलासाको प्रस्तुती रेष्लिङ थप आर्कषण थियो । भिडन्तमा नेपाली रेष्लरहरुले दर्शकको साथ बढी पाए । रेष्लरले रिङमा गरेका गतिबिधि दर्शकका लागि रुचिकर बन्यो ।


रेस्लिङ हेर्न बालबालिका र किशोरकिशोरीकोे भिँड थियो । उनीहरुले नौलो अनुभुती लिदै रेष्लिङ भिडन्त नियाले । रेस्लिङ प्रतियोगिताका खेल पहिलो महिला रेस्लिङ रेफ्री सुनिता थापा, कुबेर केसी र प्रदिप पाण्डेले संचालन गरे । प्रतियोगिताको कमेन्टेटरमा रहेका नेपालका ¥यापर बुलेटफ्लो थापाकाजी र मिस्टर प्रिन्सको जोडीले थप मनोरञ्जन प्रदान गरे । प्रतियोगीता अबलोकनका लागि दर्शकले रु ३ सय, ५ सय र १ हजारको टिकट काटेर कर्भडहल प्रबेश गरेका थिए । झण्डै तीन घण्टा चलेको रेष्लिङ भिडन्तको आयोजना रिङ रेष्लिङ एशोसियसन अफ नेपालले गरेको थियो ।