पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिए, अन्तिम संवाद यस्तो


काठमाण्डौ – कहिले पशुपति र कहिले कोटेश्वरतर्फबाट अवतरण गर्न खोजिरहेका पाइलट तनाव वा थकानमा थिए, उनी अलमलिएका थिए । आजको नयाँ पत्रिकामा छापिएको छ।

काठमाडौं टावर : बंगला स्टार २११, म फेरि भन्दै छु, रनवे टु जिरोेतिर नजानुहोस्, होल्ड गर्न अनुमति ….. (रन वे टु जिरो भनेको पशुपतितर्फबाट अवतरण गर्ने रनवे हो, कोटेश्वरबाट अवतरण गर्ने रनवे जिरो टु हो, सामान्यतया अन्तर्राष्ट्रिय विमानहरू कोटेश्वरतर्फबाट अर्थात् जिरो टु रनवेमा अवतरण गर्छन् ।) तर, एअर ट्राफिक कन्ट्रोल (एटिसी) ले म फेरि भन्दै छु रनवे टु जिरोतिर नजानुहोस् भनेबाटै बुझिन्छ, पाइलट पशुपतितर्फबाट अवतरण गर्नेगरी अघि बढिरहेका थिए, त्यतातर्फ जान खोज्दै थिए, एटिसीले सचेत गराउँदै थिए ।

बंगला स्टार (पाइलट) : हामी रनवे जिरो टु (कोटेश्वर) बाट अवतरण गर्न दायाँतिर मोडिएर होल्ड गर्ने छौँ ।
(यसको मतलब के हो भने पशुपतितर्फबाट होइन, कोटेश्वरतर्फबाट अवतरण गर्न एटिसीले दिएको अनुमति पाइलटले स्विकारेका छन् । त्यसका लागि केही समय आकाशमै होल्ड गर्न पनि उनी तयार भएका छन् ।)

काठमाडौं टावर : ओके सर, तर झट्टै अवतरण नगर्नुहोस् । अर्को विमान सर्ट फाइनलमा छ । (अर्को विमान सर्ट फाइलनमा छ भनेको अवतरणका लागि धावनमार्गनिकट आइपुगिसकेको छ भन्ने हो । अर्को विमान धावनमार्गनजिक आइसकेकाले बंगला स्टारलाई धैर्य गर्न थप सचेत गराइएको छ ।)

काठमाडौं टावर : बुद्ध एयर ३५२; अन्य ट्राफिकका कारण १५ माइल पर नै होल्ड गर्नुहोस् । (बुद्ध एअरबाट जवाफ आउँदैन)

काठमाडौं टावर : बुद्ध एयर ३५२; तपाईं १५ माइलमा होल्ड गर्न सक्नुहुन्छ ? कन्फर्म गर्नुहोस् ।
यसबीचमा काठमाडौं टावरभित्र नै अधिकारीबीच कुराकानी हुन्छ : यो जहाज रनवेमा जिरो टु र टु

जिरोमा डिस्ओरियन्टेड भएजस्तो छ । यसलाई राडार भेक्टर गरी अर्को धावनमार्गतिर लैजानुपर्ला जस्तो छ ।
(यसको मतलब कोटेश्वर र पशुपति कताबाट अवतरण गर्ने भन्नेमा बंगला स्टार अलमलमा परेको छ भन्ने अनुमान काठमाडौं टावरले गरिसकेको छ । त्यसैले अब जहाजलाई निश्चित दिशा निर्देश गर्दै धावनमार्गसम्म डोर्‍याउने प्रक्रिया थाल्नुपर्छ भनेर टावरमा कुराकानी भएको छ । तर, यसका लागि पाइलटले नै मलाई राडार भेक्टर आवश्यक छ भनी अनुरोध गर्नुपर्ने उड्ययन अभ्यास छ ।)

काठमाडौं टावर : वंगला स्टार २११ † दुबै रनवे खाली गरिएको छ । कुन रनवेमा अवतरण गर्न चाहनुहुन्छ ? (अलमल परेको जहाजलाई सहज अवतरण दिन एटिसीले दुवैतर्फका धावनमार्ग खुला गरिदिएको छ, कुन सहज हुन्छ भनेर पाइलटलाई सोधिएको छ ।)

वंगला स्टार (पाईलट) : हामी रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न चाहन्छौ ।

काठमाडौं टावर : रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न अनुमति छ । (पश्चिमबाट पूर्वतिर हावाको बहाव) २ सय ७० डिग्रीमा हावाको गति ६ नट (सामान्य ) छ ।
(पाइलटले नै रोजेअनुसार पशुपतितर्फबाट अवतरण गर्न एटिसीले अनुमति दिएको छ, साथै हावाको गति सामन्य छ भन्ने जानकारी पनि दिएको छ)

बंगला स्टार (पाइलट) : रनवे टु जिरो क्लियर फर ल्याण्डिङ ।
(अब जहाज अवतरण गर्नै लाग्यो, धावनमार्ग क्लियर छ भन्ने एटिसीको सूचनालाई पाइलटले नियमअनुुसार निश्चित गर्न खोजेका छन् )

काठमाडौं टावर :तपाईको नजरमा रनवे छ ? निश्चित गर्नुहोस् ।

बंगला स्टार (पाइलट) : नेगेटिभ ।
पाइलटले भने, मेरो नजरमा रनवे छैन ।

काठमाडौं टावर : वंगला स्टार २११ ; बाँयातिर मोडिनुस ।
(तर, एटीसीको यो निर्देशन पुरा नभई टुङगीएको छ ।)

काठमाडौं टावर : तपाईले धावनमार्ग देख्नुभयो कि अझै देख्नुभएको छैन ?
बंगला स्टार (पाइलट) : अफरमेटिभ रनवे इन्साईट । अतवरणका लागि अनुमाति दिनोस् ।
(अर्थात्, पाईलटले धावनमार्ग देखिसकेको जानकारी गराइसकेका छन् , उनी अवतरण गर्न पुरै तयार छन् ।)

काठमाडौं टावर : वंगला स्टार २११ ; अवतरणका लागि अनुमति छ ।

बंगला स्टार (पाइलट) : रनवे जिरो टुमा (कोटेश्वर) बाट अवतरणका लागि अनुमति दिनुहोस ।

यहाँ अचानक अर्को ‘ट्वीस्ट’ आएको छ । पशुपतितर्फबाट अवतरण गर्न पाइलटले अनुमति मागेकोले धावनमार्ग समेत क्लियर भइसकेको अवस्थामा उनले कोटेश्वरतर्फबाट अवतरण गर्न अनुमति मागेका छन् । यसले के देखिन्छ भने पाइलट अत्यन्तै अलमलिएका छन्, उनले आफुले एटीसीसँग भएको अघिल्लो सम्वाद पनि बिर्सिएका छन्, पाइलट चरम तनाव वा थकाइको अवस्थामा भएको अनुमान गर्न सकिन्छ ।)

काठमाडौं टावर : रनवे जिरो टुमा (कोटेश्वरतर्फबाट) अवतरणका लागि अनुमति छ ।
(अलमलिएका पाइलटलाई एटीसीले कोटेश्वरबाट अवतरण गर्ने अनुमति दिएको छ ।)

काठमाडौं टावर : यही बीचमा काठमाडौं टावरले आर्मी ३५ लाई होल्डिङका लागि अनुरोध गर्दछ । टावर भन्छ– वंगला स्टार २११ ले रनवे टु जिरो (पशुपतितर्फ) बाट अवतरण गर्न सर्किलिङ गरिरहेको छ । तपाई अहिले उडानगरी रहनु भएको स्थानमा होल्ड गर्न सक्नु हुन्छ ?

यसको मतलव बङलास्टार कताबाट अवतरण गर्ने हो भन्नेमा एटीसी पनि अलमलमा छ । दुवैतर्फका धावनमार्ग क्लियर हुँदा बङलास्टारलाई अवतरण गर्न झन् सजिलो हुने भएको छ ।

आर्मी ३५ : वी वील कम्प्लाई (अर्थात सेनाको जहाजले १० माईल पर होल्डिङका लागि स्विकार गरेको छ ।)

बंगला स्टार (पाइलट) : सर हामीलाई अवतरणका लागि अनुमति छ ?
यसअघि जिरो टु (कोटेश्वर) बाट अवतरण गर्न खोजिरहेको वाङलास्टार फेरि टु जिरो (पशुपति) बाट अवतरण गर्न खोजेको छ । यसले एटीसीमा फेरि तनाव बढाएको छ ।
केही बेर स्वांं………. आवाज
काठमाडौं टावर : वगला स्टार २११ ; म फेरी भन्छु ………………. डोन्ट…….
स्वाँ …………. आवाज
बंगला स्टार (पाइलट) : फायर फायर (जहाँजमा आगलागी भएको पाईलटद्धारा काठमाडौं टावरलाई जानकारी)

काठमाडौं टावर :धावनमार्ग तर्फ आइरहेका सम्पूर्ण जहाँजलाई अन्य ठाउँमा अवतरण गर्न वा होल्ड गर्न अनुरोध ।