विद्यादेवी भण्डारी राष्ट्रपतिमा निर्वाचित


विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी छन्। उनको नयाँ कार्यकाल पाँच वर्षको हुनेछ।निर्वाचन आयोगले संघीय संसद्का एक जना सांसदले दिएको मत ७९ मत बराबर कायम गरेको थियो भने प्रदेशसभाका सदस्यले दिएको मत ४८ मत बराबर कायम गरेको थियो।

संघीय संसद् र प्रदेशसभाका गरी कुल ८८० जना सांसद मतदाता रहने संवैधानिक व्यवस्था रहेको छ। कायम गरिएको मतभारअनुसार भण्डारीको पक्षमा ३९,२९५ मत र उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी कुमारी लक्ष्मी राईका पक्षमा ११,७३० मत परेको थियो।

मङ्गलवार भएको मतदानमा ८६२ जना मात्र सहभागी भए। तीमध्ये संघीय संसद्का तीन सदस्य र प्रदेशसभाका पाँच सदस्यको मत बदर भएको निर्वाचन आयोगले बताएको छ। प्रदेशसभाका १३ जना र संघीय संसद्का पाँच जना सांसद मतदानमा सहभागी भएनन्।कम्युनिस्ट पृष्ठभूमिकी भण्डारी नेपालको दोस्रो राष्ट्रपतिका रूपमा २०७२ साल कार्तिक ११ गते निर्वाचित भएकी थिइन्। उनी नेपालको आधुनिक इतिहासमा पहिलो महिला राष्ट्रप्रमुख मानिन्छिन्।

वि.सं. २०१८ असार ५ गते भोजपुरको मानेभन्ज्याङमा जन्मिएकी भण्डारीले २०३५ सालमा नेपाल कम्युनिस्ट पार्टी (माले) को स्थापनालगत्तै त्यस पार्टीको युथ लिगको कार्यकर्ताको रूपमा सङ्गठित राजनीतिक यात्रा थालेकी थिइन्। नेकपा एमालेको उपाध्यक्ष समेत भइसकेकी भण्डारीले वातावरण तथा जनसङ्ख्या एवम् रक्षामन्त्रीको जिम्मेवारी समेत सम्हालेकी थिइन्।

पति मदन भण्डारीको २०५० साल जेठ ३ गते भएको रहस्यमय सडक दुर्घटनामा निधन भएपछि गरिएको उपनिर्वाचनमा नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई हराउँदै भण्डारी सांसद् निर्वाचित भएकी थिइन्।- बीबीसी नेपाली सेवाबाट