पोखरामा मापदण्ड विपरितका स‌ंरचना भत्काउन सुरु


पोखरा – पोखरा लेखनाथ महानगरपालिका वडा नं. १ मा सार्वजनिक जग्गा मिचेर स्थानिय भिमकाली पाटन तमु समाजले लगाएको पर्खाल महानगरपालिकाले भत्काएको छ । समाजले सार्वजनिक बाटो मिचेर आफ्नो भवनको गेट बनाएको एवम् सार्वजनिक नहर कुलोको मापदण्ड विपरित पर्खाल लगाइएको पाइएपछि भत्काइएको महानगरका नगर प्रहरी प्रमुख बसन्त प्रसाद चालिसेले बताए ।

तमु समाजले सार्वजनिक बाटो तथा नहर कुलोको मापदण्ड मिचेर पर्खाल लगाउँदा आफूलाई मर्का परेको बताउँदै स्थानिय सुभद्रा पौडेलले दिएको निवेदन उपर कारवाही हुँदा उक्त पर्खाल भत्काइएको हो । नियमविपरित बनेको संरचना आफै हटाएर कार्यालयमा सम्पर्क गर्न पत्राचार गरिएपनि भीमकालीपाटन तमु समाजले अटेर गरेपछि महानगरप्रमुखले उक्त संरचना भत्काउने निरिक्षण शाखालाई आदेश दिनुभएको हो । स्थानिय सुभद्रा पौडेलको करिब पाँच आना जग्गा समाजले लगाएको पर्खालका कारण निकासविहिन बनेको थियो । तमु समाजले पौडेलको जग्गामा जाने बाटो समेत छेकेर पर्खाल लगाउदा बाटो नभएपछि करिब २ बर्षअघिदेखि घर निर्माण गर्न सहज नभएको बताइन् ।