तीनवटा पत्रकारिता पुरस्कारको प्रतिभा छनौटको लागि समिति गठन


पोखरा –  नेपाल पत्रकार महासंघ कास्की शाखाले संचालन गर्दै आएको किर्ति स्मृति पत्रकारिता पुरस्कार, पोखरा पत्रकारिता पुरस्कार र जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कारको प्रतिभा छनौटको लागि समिति गठन गरेको छ ।

मंगलवार वसेको महासंघको २५ औँ वैठकले किर्ति स्मृति पत्रकारिता पुरस्कारको प्रतिभा छनौट समितिमा पत्रकार युवराज घिमिरे, रामकृष्ण ज्ञवाली, रमेश पौडेल तथा महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सिना सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको हो । पुरस्कारको राशी १ लाख ११ हजार १ सय ११ तथा सम्मानपत्र रहेको छ ।

त्यसैगरि पोखरा पत्रकारिता पुरस्कारको लागि प्रतिभा छनौट गर्न कुशुमकेशव पराजुली, वद्रीविनोद प्रतीक , रविन्द्र वास्तोला तथा महासंघका अध्यक्ष र सचिव सदस्य रहेको समिति गठन गरिएको छ । पुरस्कारको राशी ३५ हजार १ रुपैयाँ तथा सम्मानपत्र छ ।

जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रतिभा छनौट समितिमा पुण्य पौडेल, घनश्याम पाण्डे, दुर्गा अधिकारी तथा महासंघका अध्यक्ष र सचिव सदस्य छन् । पुरस्कारको राशी ११ हजार १ सय ११ तथा सम्मान पत्र छ । तीनै पुरस्कारहरु महासंघको स्थापना दिवसको अवसरमा चैत १६ गते एक कार्यक्रम आयोजना गरि वितरण गर्ने वैठकको निर्णय छ ।

नेपाल पत्रकार महासंघ केन्द्रको निर्णय अनुसार २०७५ वैशाख २२ गते हुने प्रदेश अधिवेशनको लागि आगामी चैत २५ गते भित्रमा सदस्यता नविकरण गरिसक्ने निर्णय समेत भएको छ । त्यस्तै सरस्वती आदर्श विद्याश्रम लामाचौर पोखराले आफ्नो रजत जयन्तीको अवसरमा महासंघ कास्की शाखालाई नगद ७५ हजार सहित सम्मान गरेकोमा वैठकले धन्यवाद ज्ञापन गरेको छ ।