प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा


काठमाण्डौ –  राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन्। दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई समर्थन गरेको राजपाका नेताहरूसँग पनि औपचारिक–अनौपचारिक छलफल जारी राखेका छन्। प्रधानमन्त्री ओलीले बुधबार पनि माओवादी अध्यक्ष दाहालसँग बालुवाटारमा लामो संवाद गरेका थिए। दुवै नेताबीच मंगलबार पनि सरकार विस्तारमा केन्द्रित छलफल भएको राष्ट्रपति चुनावमा मतदान गर्न नयाँ बानेश्वरस्थित संसद् भवन पुगेका ओली–दाहाल दुवैले स्विकारेका थिए।

फागुन ३ मा प्रधानमन्त्री भएका ओलीको मन्त्रिमण्डल अहिलेसम्म सात सदस्यीय मात्र छ। एमाले उपमहासचिव विष्णु पौड्यालका अनुसार अहिले प्रधानमन्त्रीको ध्यान सरकारलाई पूर्णता दिनमा लगाएका छन्। ‘प्रधानमन्त्री अब सरकारलाई पूर्णता दिने छलफलमा जुट्न थाल्नुभएको छ’, पौड्यालले भने, ‘राजपा र संघीय फोरम दुवै दललाई पनि सरकारमा सहभागी गराउन प्रधानमन्त्रीले छलफल गर्नुभएको छ। छलफल सकारात्मक छ। अब धेरै दिन पर्खनुपर्दैन, एक÷दुई दिनमै सरकारले पूर्णता पाउँछ।’

प्रधानमन्त्रीसँग सरकारको पूर्णताका विषयमा मंगलबार र बुधबार दुई दिन छलफल गरेका माओवादी अध्यक्ष दाहालले भने बिहीबार साँझसम्म मन्त्रिमण्डल विस्तार हुने बताए। प्रधानमन्त्री ओलीसँग बुधबारको संवादपछि पार्टीनिकट योङ कम्युनिस्ट लिग (वाईसीएल)को केन्द्रीय समिति बैठकमा पुगेका उनले बिहीबार सरकार विस्तार हुने बताएका थिए।

‘भोलि (बिहीबार) मन्त्रिपरिषद् विस्तार हुन्छ, प्रधानमन्त्रीसँग त्यहीअनुसार कुरा भएको छ’, वाईसीएल बैठकमा अध्यक्ष दाहालले गरेको ब्रिफिङ उद्धृत गर्दै वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले भने। सभामुख चयन, राष्ट्रपति निर्वाचन, राजपा–फोरमलाई सरकारमा सहभागी गराउने तयारीलगायत कारण देखाउँदै प्रधानमन्त्रीले मन्त्रिमण्डललाई पूर्णता दिन ढिलाइ गर्दै आएका थिए।

उनले ३ फागुनमै एमालेका दुई तथा १६ फागुनमा एमालेका दुई र माओवादी केन्द्रका दुई गरी अहिलेसम्म सात सदस्यीय मन्त्रिमण्डल मात्र गठन गरेका छन्। सरकारले १७ वटा मात्र मन्त्रालय बनाउने निर्णयका आधारमा पनि अझै ११ मन्त्री नियुक्त गर्न बाँकी छ। सरकारको पक्षमा सुविधाजनक बहुमत हुँदा पनि मन्त्रिपरिषद्को पूर्णतामा गरेको ढिलाइको आलोचना हुन थालेपछि प्रधानमन्त्री ओली बल्ल सरकारलाई पूर्णता दिनतर्फ लागेका हुन्।