देउवाको नेतृत्वमा काग्रेसले छाया सरकार गठन गर्ने


काठमाण्डौ – संसदीय दलको विधानमा नै छायाँ सरकारको प्रावधान राखेको कांग्रेसले आगामी केन्द्रीय समिति बैठकलगत्तै छाया सरकार गठन गर्ने भएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबाट दोस्रो दल बनेको कांग्रेसले सरकारका गतिविधिलाई निगरानी गर्दै संसद्लाई प्रभावकारी बनाउन छाया सरकार गठन गर्ने तयारी गरेको हो । महेश्वर गौतमले आजको राजधानी दैनिकमा खबर लेखेका छन्।

कांग्रेस नेता बालकृष्ण खाँडले ९ चैतमा बस्ने केन्द्रीय समिति बैठकपछि छाया सरकार गठन गरिने बताए । ‘९ चैतमा केन्द्रीय समिति बैठक बोलाइएको छ, छाया सरकारका लागि सो बैठकमा आवश्यक छलफल हुन्छ, संसदीय दलको नेताकै नेतृत्वमा छाया सरकार बन्छ,’ नेता खाँडले राजधानीसँग भने ।

कांग्रेसले बनाउने छाया सरकारमा क्याबिनेटमा रहने मन्त्रालय र मन्त्रीबराबरकै मन्त्री रहनेसमेत खाँडले जानकारी दिए । ‘क्याबिनेटमा जति मन्त्रालय र मन्त्री रहन्छन्, त्यति नै बराबर छाया सरकारमा समेत मन्त्री तोकिन्छन्, मन्त्रीका सहयोगी सदस्यसमेत रहनेगरी कामको जिम्मेवारी दिइन्छ,’ खाँडले भने ।

नेता भीमसेनदास प्रधानले छाया सरकारको नेतृत्वमा दलको नेता आफैं प्रधानमन्त्री रहने र प्रधानमन्त्रीले नै सम्बन्धित मन्त्रालयको विज्ञताको आधारमा मन्त्रीको जिम्मेवारी दिने जानकारी दिए ।

‘छाया सरकारको प्रधानमन्त्री दलको नेता नै हो, प्रधानमन्त्रीले नै अन्य मन्त्रीलाई विज्ञताका आधारमा जिम्मेवारी दिने हो,’ प्रधानले भने । कांग्रेसले छाया सरकारमार्फत मन्त्रालयगत कामको निगरानी, निर्णय, संवैधानिक पद्धति, प्रक्रिया र जन आकांक्षालाई ध्यानमा राखेर काम गर्नेसमेत बताइएको छ ।

कांग्रेसले बहुमत प्राप्त दलको नेता सरकारमा र प्रतिपक्षी दलको नेता आउने सरकारको प्रधानमन्त्रीका रूपमा रहनेगरी छाया सरकारको अवधारणालाई अघि सारेको नेताहरूले बताएका हुन् ।

कांग्रेसले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनमा आफ्ना तर्फबाट निर्वाचित भएका सांसदहरूलाई एकठाउँ राखेर विधानमा नै छाया सरकारको प्रावधान राख्ने निर्णय गरेको थियो भने केन्द्रीय समितिले सो निर्णय थप गर्दै दलको विधानलाई अनुमोदन गरेको थियो ।