प्रधानमन्त्री केपी ओलीको आज मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी


काठमाण्डौ – प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व सम्हालेको ३० दिनपछि शुक्रबार मन्त्रिपरिषदलाई ‘पूर्णता’ दिने तयारी गरेका छन्। आफ्नै पार्टी एमाले, माओवादी, संघीय फोरम र राजपासमेतलाई समेटेर सरकारलाई पूर्णता दिने तयारीमा प्रधानमन्त्री ओली लागेका हुन्। यसका लागि उनले बिहीबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेताहरूसँग अनौपचारिक छलफल गरेका थिए।

प्रधानमन्त्री ओलीले आफ्नै दलका शीर्ष नेतासँग बिहीबार छलफल गरे भने बालुवाटारमै माओवादी केन्द्र र संघीय फोरमलाई आन्तरिक पार्टी छलफल र अन्तरपार्टी छलफलको वातावरणसमेत मिलाइदिए। राष्ट्रपति चुनावपछि सरकारलाई पूर्णता दिने बताउँदै आएका प्रधानमन्त्रीले त्यसयताको तीन दिन माओवादी अध्यक्ष दाहालसँग लगातार छलफल गर्दै आइरहेका थिए।

मंगलबार, बुधबार मात्रै होइन, ओली–दाहालले बिहीबार पनि बालुवाटारमा छलफल गरेका थिए। यी भेटघाट हरेक दिन रुटिङ नै जस्तो एक घण्टासम्म चल्ने र उठ्ने गरेको थियो। शुक्रबारै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीसाथ बिहीबार भने ओली–दाहालबीच साँझ–बिहान दुई पटक भेटवार्ता भएको थियो। ‘प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद् विस्तार शुक्रबार नै गर्ने तयारी गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘कुनै परिघटना भएन भने शुक्रबार अब मन्त्रिमण्डलले पूर्णता पाउँछ।’

फोरम र राजपासँग पनि प्रधानमन्त्रीले औपचारिक÷अनौपचारिक छलफल गरेका कारण सकभर दुवै पार्टीलाई सरकारमा ल्याएर मन्त्रिमण्डललाई पूर्णता दिने गरी छलफल भइरहेको रिमालले बताए। राजपाका शीर्ष नेताको छलफल पनि बिहीबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमै बसेको थियो। तीन वटै पार्टीले आ–आफ्ना पार्टी नेतासँग बिहीबारै आन्तरिक छलफल गरेपछि पुनः तीन शीर्ष नेताबीच मन्त्रालय भागबन्डा र संख्याका विषयमा केन्द्रित रहेर छलफल भएको थियो। ‘सरकारले पूर्णता नै पाउने विषय अन्य दलको तयारीले के हुन्छ तर शुक्रबार दुई–चार जना भए पनि मन्त्रिमण्डल बिस्तार हुन्छ,’ माओवादी नेता शक्ति बस्नेतले भने।

सरकारमा संघीय फोरम पनि सहभागी हुने नै भएपछि एमाले–माओवादीले यसअगाडि भागबन्डा गरेको मन्त्रालय संख्यामा दुवैका एक–एकवटा घटाएर फोरमको व्यवस्थापन गर्ने तयारी भएको छ। त्यसो हुँदा एमालेलाई प्रधानमन्त्रीसहित १०, माओवादीलाई ६ र फोरमलाई २ मन्त्रालय भाग आउनेछ।

त्यस्तै राजपा सरकारमा आए उसले पनि दुई मन्त्रालय पाउनेछ। ‘मन्त्रालयको संख्या र कुन मन्त्रालय कुन पार्टीलाई भन्ने विषयमा टुंगो भने लागिसकेको छैन,’ माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘यी विषय छलफलकै क्रममा छन्, अझै टुंगिएका छैनन्।’

माओवादीका तर्फबाट यसअघि नै गृहमा रामबहादुर थापा र उद्योग वाणिज्य तथा आपूर्तिमा मातृका यादवले मन्त्रीको रूपमा सरकारमा काम गरिरहेका छन्। ६ मन्त्रालय पाउँदा उसले प्रदेश ७ बाट बिना मगर, प्रदेश २ बाट गिरिराजमणि पोखरेल, प्रदेश ५ बाट वर्षमान पुन र प्रदेश ६ बाट नेताद्वय जनार्दन शर्मा र शक्ति बस्नेतमध्ये एकलाई पठाउने तयारी गरेको छ।

एमालेबाट भने प्रदेश १ बाट भानुभक्त ढकाल, योगेश भट्टराई, वसन्त नेम्बाङ, २ बाट रघुवीर महासेठ, ३ बाट कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, प्रदेश ४ बाट रवीन्द्र अधिकारी, प्रदेश ५ बाट प्रदीप ज्ञवाली र छविलाल विश्वकर्मा, ७ बाट प्रेम आले र नारदमुनि रानाको नाम चर्चामा छ। एमालेले अब पाँच वटा मन्त्रालयमा मन्त्री पठाउनुपर्नेछ।