पोखरा महानगरपालिकाले ७० बर्ष माथीका वृद्ध–वृद्धाको निशुृल्क उपचार गर्ने


पोखरा – पोखरा महानगरपालिका भित्र बसोबास गर्ने ७० बर्ष माथीका वृद्ध–वृद्धाको निशुृल्क उपचार हुने भएको छ । महानगरपालिकाले जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रम मार्फत जेष्ठ नागरिकको निशुल्क उपचारको व्यवस्था मिलाएको हो । अहिले पोखरा महानगरभित्र ७० बर्ष माथीको जनसंख्या १३ हजार रहेको छ ।

जेष्ठ नागरकि स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत महानगरको स्वास्थ्य टोलीले द्धैमासिक रुपमा वडा वडामा पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्नेछन् । स्वास्थ्य परिक्षण पश्चात उपचार र आवश्यकता अनुसार अस्पतालहरुमा रिफर गरिने र उक्त उपचारको व्यवस्था निशुल्क गराउने महानगर प्रमुख मानबहादुर जिसीले बताउनुभयो । जेष्ठ नागरिकको उपचारका लागि सरकारी र निजी क्षेत्रका अस्पतालसँग सहार्य गरिने उहाँको भनाई छ ।

उक्त अभियान यही ४ चैतदेखि पोखरा १९ पुरन्चौरबाट शुरु गरिनेछ । संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा व्याख्या गरेको बताउँदै महानगरका मेयर मानबहादुर जिसीले भन्नुभयोे, स्थानीय सरकार पनि जेष्ठ नागरिक प्रति जिम्मेवार बन्नुपर्छ, हामीले सक्दो सहयोग गर्नुपर्छ । शिविरमा ७० वर्षमाथिकालाई प्राथमिकतामा राखेर उपचार गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले बताउनुभयो । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले महानगरमा १९ वटा हेल्पोष्ट, २ वटा प्राथमिक स्वास्थ्य केन्द्र र २ अस्पताल रहेको र त्यहीको जनशक्ति र आवश्यक थप चिकिल्सकहरुको सहयोगमा शिविर संचालन गरिने बताउनुभयो ।