जग्गा बिबाद बारे अनाबश्यक टिका टिप्पणिप्रति एनआरएनएको ध्यानाकर्षण


बार्सिलोना/एनआरएनएको निर्माणधीन भवनको जग्गा बारे भईरहेका टिका टिप्पणिप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै नेपालको एक टेलिभिजन च्यानलले प्रशारण गरेको समाचार र त्यस विषयलाई लिएर सामाजिक संजाल तथा संचार माध्यमहरुमा भईरहेका टिकाटिप्पणी प्रति चिन्ता प्रकट गरेको हो।

संघका प्रबक्ता भूषण घिमिरेद्वारा जारी बिज्ञप्तिमा संघ विधिवत रुपमा नेपाल सरकारमा दर्ता भए पछि औपचारिक रुपमा नै संघले आफ्नो नाममा जग्गा खरिद गरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको उल्लेख गरिएको छ।

“जग्गा खरिद गर्नको लागि तत्कालिन कार्यकालमा पाँच सदस्सीय टोली गठन भएको थियो र उक्त टोलीको सिफारिसमा गैरआवासीय नेपाली संघले छुट्टा छुट्टै लिखतबाट विभिन्न कित्ता नम्बरका बालुवाटार स्थित ३ रोपनी जग्गा जम्मा १२ करोड बहत्तर लाख लागतमा मिति २०७२।२।१४ मा खरिद गरेको थियो । गैरआवासीय नेपाली संघ गैर नाफामुलक संस्था भएकोले उक्त जग्गाखरीद गर्दा लाग्ने राजश्व ५० लाख अठासी हजार छुट दिन यस संघले नेपाल सरकारलाई अनुरोध गरेकोमा मिति २०७२।१।३१ को नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट राजश्व छुट समेत पाएको अवगत गराउँदछौं ।” बिज्ञप्तिमा उल्लेख छ।

पटक पटक हस्तान्तरण भई संघको नाउँमा आएको उक्त जग्गा खरिद गर्दा विगतका धेरै वर्षहरुमा जग्गाको कसको नाउँबाट को कसको नाउँमा हस्तान्तरण हुँदै आएको हो वा विगतमा सो जग्गा बारे के कस्तो विवाद भएको थियो भन्ने जानकारी संघलाई नभएको उल्लेख छ।

“प्लिन्थ लेभलसम्म निर्माण कार्य सम्पन्न भइसकेपछि बाँकी निर्माणको नक्सा पासका लागि जाँदा निर्माणकार्य रोक्न काठमाडौं महानगरपालिकाले आदेश दिएकोमा सम्मानित सर्वोच्च अदालतले मिति २०७४।०५।११ का दिन गरेको निर्णयबाट “जग्गा कानुन बमोजिम जफत हुने ठहरिएको अवस्थामा सो स्थानमा निर्मित घर आदि भौतिक संरचना स्वतः जफत हुने गरी हाल निवेदकको नाउँमा दर्ता रहेको जग्गामा भवन निर्माण गर्न रोक नलगाउनु, आवश्यक कानुनी प्रक्रिया पुरा गरी भवन निर्माण गर्न दिनु दिलाउनु” भनी अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेश जारी भए पश्चात भवन निर्माण कार्य भइरहेको छ । अहिले पनि मुद्दाको अन्तिम किनारा भने लागि नसकेको अवस्था छ ।” संघले स्पष्ट पारेको छ।

आफूले खरिद गर्नु पूर्व सो जग्गा सम्बन्धी विवादको जानकारी संघलाई नभएको जनाएको छ। यस बारे प्रष्ट पार्दै बिज्ञप्तिमा भनिएको छ.” संघले बदनियतपूर्वक जग्गा प्राप्त नगरेको,मुद्दा मामिला गर्ने संघको ध्येय नरहेको तर संसारभरका गैरआवासीय नेपालीहरुको मेहेनतबाट आर्जित तथा मनकारी आवासीय नेपालीहरुबाट समेत उठाइएको पैसाबाट बिधिवत रुपमा चलन चल्तिको मोल चुक्ता गरी खरिद गरेको सम्पत्ति आफुले उपभोग गर्न पाउने अधिकारको रक्षा गर्नु संघको दायित्व भित्र परेको समेत स्पष्ट पार्दछौं ।”

बालुवाटारमा निर्माणाधिन कार्यालय भवन यथाशिघ्र छिटो निर्माण सम्पन्न गरी सचिवालय संचालन गर्ने तयारीमा रहेको र यस कार्यमा कहीं कतैबाट अवरोध नहुने कुरामा संघ विश्वस्त रहेको बिज्ञप्तिमा उल्लेख छ।