विश्व रंगमञ्च दिवस पोखरामा मनाइयो, राष्ट्रिय नाटक महोत्सव जारी


राजाराम पौडेल, पोखरा – मंगलबार विश्व रंगमञ्च दिवस पोखरामा मनाइएको छ । पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरमा जारी राष्ट्रिय नाटक महोत्सवमा नाटक हेरेर र विश्वरंगमञ्च दिवसको अवसरमा आयोजित बहस कार्यक्रममा सहभागी भएर पोखरेली नाट्यप्रेमीले दिवस मनाएका हुन् ।

नेपाली रंगमञ्च र चलचित्र शिर्षकमा भएको बहसमा चलचित्र निर्देशक नवीन सुब्बाले परम्परागत रङ्गमञ्चीय कर्ममा परिवर्तन ल्याउनुपर्ने तर्क गरे । ‘हाम्रो आजको नाटक पनि भरतमुनिको नाट्यशास्त्रकै निर्देशनमा अघि बढिरहेको छ’ सुब्बाले भने । यथास्थितिवादबाट बाहिर निस्कनुपर्ने भन्दै हाम्रो सोचाइको शैलीमै परिवर्तन ल्याउनुपर्ने सुब्बाको भनाइ थियो ।

कलाकार अरुणा कार्कीले सबै कुरा परम्पराबाटै सिकेको हुनाले त्यही गर्नुपर्नेमा जोड दिइन् । कलाकार कार्कीले आफूले चलचित्र पैसाका लागि खेल्ने र रङ्गमञ्चमा काम गर्दा सन्तुष्टि प्राप्त गर्ने बताइन् । उनले चलचित्रमा आफ्नोपन भेट्न नसकिने तर रङ्गकर्ममा दालमोठ चिउरा भए पनि पारिवारिक वातावरणमा खाइने भएकाले पनि आफ्नो जस्तो लाग्ने विचार राखिन् । बहसमा सहभागी चलचित्र र रङ्गमञ्चका अध्येता सुवर्ण थापाले प्राकृतिक र यथार्थ अभिनयको महत्त्व नेपाली कलाकारले बुझ्न नसकेको आरोप लगाए । नाटक चाहिँ सिनेमा जस्तो र सिनेमा नाटक जस्तो हुनु बिडम्बना भएको भनाइ उनको थियो । प्रतिष्ठानका नाट्य विभाग प्रमुख रमेशरञ्जन झाले रङ्गमञ्च दिवसको सन्देश वाचन गरेकोे कार्यक्रमको सहजीकरण डा. सचिन घिमिरेले गरेका थिए ।

यसैगरी पाेखरामा अायाेजित राष्ट्रिय नाटक महोत्सवमा मंगलबार तीन नाटक मञ्चन भए । मञ्जरी नाट्य समूह, लमजुङकोे प्रस्तुतिमा पुरु लम्सालको लेखन र निर्देशन रहेको नाटक ‘पानीघट्ट’, हिमाली सांस्कृतिक परिवारको प्रस्तुतिमा चेतन कार्कीको लेखन र मेनकाजी गुरुङको निर्देशन रहेको ‘नारी शिक्षा’ र सद्भाव थिएटरको प्रस्तुतिमा नरेश भण्डारीको लेखन र टीकाभक्त जिरेलको निर्देशन रहेको ‘चाँदीको घेरा’ पनि मञ्चन गरिएको थियो ।

सोही अवसरमा डा. अशोक थापाको १४२ ओटा कृतिका समीक्षा समेटिएको कृति ‘किताबै किताब ः समीक्षा सिद्धान्त र प्रयोग’ विमोचन गरियो ।
महोत्सवका अन्तिम दिन बुधबार बिहान ८ बजे पोखरा थिएटरका अध्यक्ष परिवर्तन, सांसद पियारी थापा, साहित्यकार मन क्षेत्री र युथ क्रियसन थिएटरका सचिव सौगात पोखरेलबीच पोखराको रङ्गमञ्च अबको बाटो विषयमा पत्रकार वासु मिश्रले बहस चलाउनेछन् । दिउँसो १ बजे ओेथेलो नाटक समूह पोखराको प्रस्तुतिमा कृष्ण उदासीको लेखन र आशिष अधिकारीको निर्देशनमा जयगान र ५ बजे लोक सञ्चार जनकपुर तथा सिल्पी थिएटरको प्रस्तुतिमा रमेशरञ्जन झाको लेखन र घिमिरे युवराजको निर्देशनमा सखी नाटक मञ्चनसँगै महोत्सवको समापन हुने छ । बिहीबार महोत्सवको समीक्षा गरिने महोत्सवका संयोजक पुष्कर गुरुङले जनाए । नाटक महाेत्सव चैत्र ८ गतेबाट सुरु भएकाे  थियो ।

तस्विर : रुपेन्द्र प्रभावी कटु