राजदूत रायमाझीद्वारा स्पेनका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश


बार्सिलोना/ स्पेनका लागि पहिलो नेपाली राजदूत भरत बहादुर रायमाझीले स्पेनका राजा फेलिपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन्। रोयल प्यालेस म्याड्रिडमा बिहिबार आयोजित एक विशेष समारोहबीच स्पेनका लागि नेपाली राजदूतको हैसियतबाट रायमाझीले ओहदाको प्रमाणपत्र पेश गरेका हुन्। २ महिना अघि स्पेनको परराष्ट्र मन्त्रालयमा प्रमाणपत्रको प्रतिलिपि बुझाए पनि,राजसमक्ष पेश गर्ने समय भने अहिले मिलेको हो।

सो अबसरमा,स्पेनमा नेपाली दूताबास खोल्ने नेपाल सरकारको निणर्यलाई स्वागत गर्दै राजाले खुशी ब्यक्त गरेको थिए। दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ,सुमधुर र घनिभूत बनाउने सक्षम हुने विश्वास राजाबाट ब्यक्त भएको दूताबास स्रोतले जनाएको छ। खुवान कार्लोसले ३९ बर्षे शासन अन्त्य गर्दै राजगद्दी त्याग गरेपछि सन् २०१४ देखि ५० बर्षिय फेलिपे छैटौले स्पेनको राजगद्दी सम्हाल्दै आएका छन्।

सन् १९६८ मा दुई  राष्ट्रहरु बिच दौत्य सम्बन्ध स्थापित भएको थियो। सन् १९८४ मा स्व. राजा बिरेन्द्र र रानी ऐश्वर्याले स्पेनको भ्रमण गरेका थिए। त्यतिबेला राजा रानीको निमन्त्रणामा फेरि स्पेनका राजा खुवान कार्लोस र रानी सोफियाले ३ बर्ष पछि अर्थात्  सन् १९८७ नोभेम्बरमा नेपालको भ्रमण गरेका थिए। सन् १९८४ को जुलाईमा राजा बिरेन्द्रले स्पेनका राजालाई हिमालयन रेड पान्डा उपहार समेत दिएका थिए।