बेगनासतालमा चौथो संस्करणको फिस फेष्टिवल हुने


पोखरा – ‘बेगनास जाऔं, माछाका परिकारमा रमाऔं’ भन्ने मुल नाराका साथ यही चैत्र २९ गते. देखि पोखरा लेखनाथ महानगरपालिका ३१, ड्यामसाईड, बेगनासतालमा चौथो संस्करणको फिस फेष्टिवल हुने भएको छ । स्थानिय स्तरमा उत्पादित माछाको संरक्षण गरी आन्तरिक तथा बाह्यि पर्यटक प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त महोत्सव वैशाख १ गतेसम्म संचालन हुने भएको शुक्रबार बेगनासतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको हो ।

नेपाली नषँ बर्षको अवसरमा पर्यटकहरुको नयाँ गन्तव्यको रुपमा विकास गर्न पनि आफुहरुले नयाँ बर्षको अवसमरा उक्त महोत्सव आयोजना गर्न लागिएको फेष्टीवल संयोजक दामोदरभक्त थापाले बताए । होटल तथा रेष्टुरेण्ट एशोसिएसन लेखनाथको आयोजना तथा बेगनास डुंगा ब्यबसायी समिति, बेगनासताल बस सञ्चालक समिति तथा बेगनासताल बजार ब्यबस्थापन समितिको सहआयोजनामा लेखनाथको बेगनास ताल किनारमा संचालन हुने उक्त फेष्टिवलमा २३ प्रकारका माछाहरु परिकारको साथमा विक्रीका लागि समेत राखिने भएको संयोजक थापाले बताए ।

प्रवेश निःशुल्क रहेको महोत्सवमा माछाको बारेमा जानकारी लिन चाहानेहरुको लागि मत्स्य अनुसन्धान केन्द्रबाट परामर्श दिने व्यबस्था समेत मिलाइने आयोजकले जनाएको छ । बेगनाससहित सात ताल नजिकका क्षेत्रको पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्नु, स्थानिय रुपमा उत्पादित माछा, मह, कफि, जडीवुटीहरुको प्रचार प्रसार, स्थानीय माछाको संरक्षणसहित तालहरुको संरक्षण गर्ने उद्धेश्यले फेष्टिवल आयोजना गरिएको एशोसिएसन लेखनाथका निर्देशक दुर्गाप्रसाद अधिकारीले बताए । फेष्टिवलको अवसरमा बेगनास तालमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड प्रतियोगिता, खुल्ला पौडी प्रतियोगिता, माछा मार्ने प्रतियोगिता, माछा र खानाका परिकारहरु, माछाको परिकार बनाउने निशुल्कः तालिम, कफी प्रदर्शनी, जडीवुटी प्रदर्शनी, पप कन्सर्ट, लोकदोहोरी, वाल उद्यान लगायतका कार्यक्रम मुख्य आकर्षणको रुपमा रहने भएको अधिकारीले जनाए ।

महोत्सवको अवसरमा हेलिकोप्टरबाट सातै तालको अवलोकन गर्ने पहिलोपटक ब्यबस्थापन गरिएको आयोजकले जनाएको छ भने मोटरबोटमा ताल सयर, बराह मन्दिर दर्शन गर्ने ब्यबस्थासमेत रहेको निर्देशक अधिकारीले जनाए । फेष्टिवलमा करिब ७० हजार दर्शकले अवलोकन गर्दा ४० लाखको आर्थिक कारोवार हुने आयोजकले अपेक्षा गरेको छ । उक्त फेष्टिवलमा वेगनासताल, रुपाताल, मैदी र दिपाङ तालसहित स्थानीय पोखरीहरुमा उत्पादन भएका माछाहरु विक्री तथा वितरणमा राखिने भएको मत्स्य अनुसन्धान केन्द्र पोखराका बरिष्ठ बैज्ञानिक अग्नी नेपालले बताए । फेष्टिवलमा माछाको झोल, माछा फ्राई, माछा सुकुटी, माछा पोलेको लगायतका परिकारहरुको स्वाद लिन पाइने भएको एशोसियसनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले बताए ।