राजपा संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना


काठमाण्डौ – तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अर्का अध्यक्ष राजेन्द्र महतोले दलको नेता नछाड्ने अडान लिएका कारण निर्वाचनको सम्भावना बढदै गएको छ। आगामी १० वैशाखभित्रमा राजपाले संसदीय दलको नेता छान्दैछ। आजको नागरिक दैनिकमा खबर छ ।

अध्यक्ष मण्डलका ३ जना ठाकुरको पक्षमा देखिएका छन् भने महतोको पक्षमा शरदसिंह भण्डारीमात्रै देखिएका छन्। ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव देखिएका छन्। राजपाको अध्यक्ष मण्डलमा ६ जना छन्।

‘अध्यक्ष मण्डलका ४ जना ठाकुरजीको पक्षमा देखिए पनि निर्वाचन भएको खण्डमा विजयी हुने भनेको महतोजी नै हो,’ एक नेताले भने, ‘राजपाका १७ सांसदमध्ये महतोजीको पक्षमा १० र ठाकुरजीको पक्षमा ७ जना छन्।’ संख्याको हिसाबले जित्ने भएकाले पनि महतो निर्वाचन लड्ने पक्षमा देखिएका छन्।

ती नेताका अनुसार महतोको पक्षमा सांसदहरु लक्ष्मणलाल कर्ण, रेशम चौधरी, प्रमोद साह, चन्द्रकान्त चौधरी, अमृत अग्रहरी र नरमाया ढकाल छन्। निर्जला राउत र शरदसिंह भण्डारीले पनि महतोलाई मत दिने बुझिएको छ।

ठाकुरको पक्षमा भने चन्दा चौधरी, दुलारीदेवी खत्वा, अकवल अहमदसहित अनिलकुमार झा र रानी मण्डल छन्। महेन्द्र राय यादव र राजकिशोर यादव पनि ठाकुरकै पक्षमा देखिने लगभग पक्का भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ४ महिना नाघिसक्दा पनि राजपाले संसदीय दलको नेता चयन गरेको छैन।

राजपाले प्रदेशसभा र संघीय संसद्को संसदीय दलको विधान बनाउने निर्णय लिएको अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले बताए। वैशाख ७ गतेलाई पार्टी स्थापना दिवस मनाउने घोषणा गरेको राजपाले पार्टीको एकता महाधिवेशन गर्ने निर्णय पनि लिएको झाले बताए।