श्री मन्टेश्वरीका नानीबाबुले देखाए प्रतिभा


राजाराम पौडेल,पोखरा -पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ गणेशटोलमा रहेको श्री मन्टेश्वरी प्रि–स्कुलले स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्ष प्रवेशको अवसरमा शनिबार प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोलाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै उनले महानगरपालिकाले मन्टेश्वरी शिक्षालाई विशेष प्राथमिकता दिएर ऐन कानून बनाउन लागेको बताए । ‘मन्टेश्वरीको लागि सम्बन्धित विज्ञहरुसँग छलफल गरी ऐन नियम निर्माण गर्न लागेको छ, महानगरको ऐन नियम अनुसार मन्टेश्वरी चल्नुपर्छ’ उनले भने । मन्टेश्वरी व्यवसायिक रुपमा भन्दा सामाजिक भावनाका साथ चल्नुपर्नेमा उनको जोड थियो । मन्टेश्वरी स्कुलसँगै रहने अथवा छुट्टै रहने भन्ने विषयमा गहन अध्ययन भइरहेको भन्दै मन्टेश्वरी शिक्षालाई महानगरपालिकाले प्राथमिकतामा राख्ने उनको भनाइ थियो ।


कार्यक्रममा मन्टेश्वरीमा अध्ययनरत प्रि नर्सरी, नर्सरी र एल.केजीमा अध्ययनरत नानीबाबुले आफ्नो प्रतिभा देखाए । पोखरा गैह्रापाटनमा रहेको केसी क्याटरिङको सभाहलमा आयोजित कार्यक्रममा नानीबाबुको प्रस्तुती हेर्दै अभिभावक समेत रमाए ।

अभिनय, नृत्य र गायनको मिश्रण रहेको कार्यक्रममा नानीबाबुले आफ्नो क्षमतालाई देखाउन गरेको मेहनतले उपस्थितको ध्यान खिच्यो । कार्यक्रमको अवसरमा मन्टेश्वरीमा आयोजना हुने विभिन्न अतिरिक्त क्रियाकलापमा विजयी नानीबाबुलाई पुरस्कृत समेत गरियो ।


श्री मन्टेश्वरी प्रि स्कुलका संस्थापक अध्यक्ष महेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल संगीता न्यौपाने अधिकारी, समाजसेवी शंकरनाथ कोइराला, अभिभावक राजाराम पौडेल, रवि पण्डित, शिक्षिका रोसनी श्रेष्ठ, गरिमा न्यौपाने, गंगा कुँवर लगायतले आ–आफ्नो भनाइ राखे ।


सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञान दिने लक्ष्यका साथ अगाडि बढेको मन्टेश्वरीले आगामी दिनमा संगीतकक्षा तथा, चित्रकलाको प्रशिक्षण समेत दिई बालबालिकाको प्रतिभा उजागर गर्ने तयारी रहेको संस्थापक प्रिन्सिपल संगीता न्यौपाने अधिकारीले बताइन् । तीन वर्ष अघि स्थापना भएको मन्टेश्वरीले हरेक शुक्रबार नियमित रुपमा प्रतिभा प्रस्फुटन कार्यक्रम गर्दै बालबालिकाका प्रतिभा बाहिर ल्याउने कार्य गरिरहेको उनले जनाइन् । नेपालका धर्म, संस्कृति, चालचलनकोबारेमा नानीबाबुलाई जानकारी दिन मन्टेश्वरीले नियमित रुपमा इन डोर र आउटडोरका कार्यक्रम गरिरहेको उनको भनाइ थियो ।