नेवा मिसा पुच कास्कीको पाँचौ साधारणसभा सम्पन्न


पोखरा – नेवा मिसा पुच कास्कीको पाँचौ साधारणसभा सम्पन्न भएको छ । कार्यक्रममा प्रदेश ४ का उपसभामुख सिर्जना शर्माले कर्मठ भएर आफ्नो दायित्व निर्वाह गर्ने प्रतिवद्धता जनाइन् । सांसद गायत्री गुरुङले अधिकारका लागि महिला संगठित भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याइन् ।

कार्यक्रममा कास्की जिल्ला बाट प्रतिनिधित्व गर्ने सबै महिला सभासदहरुलाइ सम्मान गरिएको थियो । साथै यो वर्षका मिस नेवा पोखरा प्रिती बुद्धाचार्य, फस्ट रनरअप प्रियङ्का श्रेष्ठ, सेकेण्ड रनरअप जेनिफर श्रेष्ठ र मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठलाई प्रदेश ४ का उपसभामुख सिर्जना शर्माले सम्मान गरेका थिए । कार्यक्रममा कुमारी नृत्य र बज्रयोगिनी नृत्यसमेत प्रस्तुत गरिएको थियो । साथै मिसा पुच अन्र्तगत रहेका ३३ वटा इकाईहरुबाट बर्षभरि उत्कृष्ट काम गर्ने इकाईहरुलाई बिभिन्न बिधामा पुरस्कृत गरिएको थियो ।

पोखरा महानगरका उपमेयर मञ्जुदेवी गुरुङले महिला सशक्तीकरणका कार्यक्रम सरकारले मात्र गरेर पूर्ण नहुने उल्लेख गर्दै जनस्तरबाटै प्रशस्त प्रयास हुनुपर्ने विचार राखिन् । नेवा खल कास्की उपाध्यक्ष तीर्थ श्रेष्ठले नेवारी संस्कारमा महिलाको भूमिका उच्च रहेको चर्चा गरे । उनले अब सबै क्षेत्रमा महिलाको समान भूमिका निश्चित हुनुपर्ने बताए ।

कार्यक्रममा सभासदहरु मिना गुरुङ, गायत्री गुरुङ, प्रभा कोइराला लगायतले पनि बोलेका थिए । उक्त अवसरमा पोखरा लेखनाथ महानगरपालिकाको सहयोगमा संस्कृतिको संवद्र्धन हेतु खरिद गरिएको चर्या नृत्यमा आवश्यक पोशाक तथा मुकुट महानगरका उपमेयर मञ्जुदेवी गुरुङले पुचका अध्यक्ष शान्ती उदासलाई हस्तान्तरण गरेका थिए ।

संस्थाका अध्यक्ष शान्ति उदासको अध्यक्षता भएको कार्यक्रममा स्वागत उपाध्यक्ष मेनुका श्रेष्ठ र सञ्चालन संगीता बज्राचार्यले गरेकी थिइन् ।