बार्सिलोनामाथि रोमाकाे सनसनीपूर्ण जित


काठमाडौं – इटायिलयन क्लब रोमाले बार्सिलोनामाथि सनसनीपूर्ण जित निकालेको छ र च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

पहिलो लेगमा व्यहोरेको ४-१ को हारलाई बिर्साउँदै मंगलबार राति भएको खेलमा रोमाले बार्सिलोनाले ३-० गोल अन्तरले हराएको हो । समग्रमा ४-४ गोल भएपनि अवे गोलका आधारमा रोमा सेमिफाइनलमा पुग्यो भने बार्सिलोना बाहिरियो ।

घरेलु मैदानमा भएको खेलमा रोमाले छैटौं मिनेटमा इडेन जोकोको गोलबाट अग्रता लिएको थियो । बाँकी दुई गोल भने दोस्रो हाफमा भयो ।

खेलको ५८ औं मिनेटमा पाएको पेनाल्टीमा डि रोसीले गोल गरे भने निर्धारित समयको खेल सकिन ८ मिनेट बाँकी रहँदा मानोलसले निर्णायक गोल गरे ।

रोमाका खेलाडीहरुको तीव्र गति र उर्जावान प्रदर्शनका सामू ला लिगाको लिडर बार्सिलोना निरिह जस्तै देखिएको थियो ।

च्याम्पियन्स लिगको दोस्रो लेगमा सनसनीपूर्ण पुनरागमन गर्ने रोमा तेस्रो टिम हो । २००४ मा डिपोर्टिभोले एसीमिलानविरुद्ध र गत सिजन बार्सिलोनाले पीएसजीविरुद्ध यस्तै जित निकालेको थियो ।