निर्वाचनमय वर्ष बन्यो २०७४


राजाराम पौडेल,पोखरा – संविधान कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधानका कारण निर्वाचन गर्नुपर्ने बाध्यता, तरपनि विभिन्न राजनीतिक उतारचढाबका कारण निर्वाचन हुने नहुने दुविधा उस्तै । यस्तैमा घोषणा भयो स्थानिय तह निर्वाचनको मिति । विभिन्न दबाबका कारण एकै चरणमा निर्वाचन गर्ने स्थिती बनेन । पहिलो चरणमा बैशाख ३१ गते प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानिय तहमा निर्वाचन भयो । निर्वाचन पश्चात नेपाली काग्रेसको सर्मथनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले पुर्व सहमती अनुसार नेपाली काग्रेसका सभापती शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गरे । त्यस पश्चात शुरु भयो दोस्रो चरणको निर्वाचनको तयारी । विभिन्न शंकाका बिच निर्वाचनको मिति सर्दै असार १४ गतेलाई तोकियो । त्यो पनि प्रदेश २ लाई थाती राख्दै । दोस्रो चरणमा प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानिय तहमा निर्वाचन भयो । प्रदेश नम्बर २ का १ सय २७ मा तेस्रो चरण अन्र्तगत आश्विन २ गते निर्वाचन सम्पन्न भएपश्चात देशभरीका स्थानिय तहले जनप्रतिनिधि पाए । स्थानिय निकाय निर्वाचनको जनमत नेकपा एमालेको पक्षमा देखियो । तालमेल गरी अगाडी बढेका नेपाली काग्रेस र माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन सकेनन् ।


स्थानिय तहको निर्वाचन पश्चात प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन एकैसाथ गर्ने कि छुट्टाछुट्टै भन्ने बहस सुरु भयो । अनि प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन एकैसाथ तर दूई चरणमा गर्ने घोषणा भयो । फलस्वरुप मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडी ३२ जिल्लामा प्रतिनिधिसभातर्फका ३७ तथा प्रदेशसभातर्फका ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भयो । दोस्रो चरणमा तराई, मधेश र पहाडका ४५ जिल्लाका प्रतिनिधि सभा तर्फ १ सय २८ तथा प्रदेश सभा तर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा मंसिर २१ गते निर्वाचन भयो । यो सँगै ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने बाध्यता र संविधानको कार्यान्वयन गर्ने अविभारा पुरा भयो । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको पूर्व सन्ध्यामा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा भएको चुनावी तालमेल तथा चुनाव पश्चात गर्ने पार्टी एकताको तरगंले नेपालको राजनीति एकाएक गर्मीयो । तालमेल गरेर चुनाव लडेका बामगठबन्धनबाट झण्डै दूई तिहाइ जनप्रतिनिधि निर्वाचित भए । निर्वाचनबाट एमाले पहिलो दल बन्दा नेपाली काग्रेस दोस्रो दल बन्न पुग्यो ।


अनि सुरु भयो प्रदेश सरकार गठन गर्ने कार्य । प्रदेश १, ३, ४, ५, ६ र ७ मा बाम गठबन्धनको मुख्यमन्त्री सहित सरकार गठन भयो । प्रदेश २ मा भने मधेशी दल मुख्यमन्त्री सहित सरकार गठन गर्न सफल भए । २०७४ माघ २४ गते ५६ जना राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन भयो । यसमा पनि बामगठबन्धनबाट झण्डै दूईतिहाइ प्रतिनिधि निर्वाचित भए ।
केन्द्रमा एमाले र माओवादी केन्द्रको बामगठबन्धनको सरकार गठन भयो । एमाले अध्यक्ष केपी ओली फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्रि बने । काग्रेस प्रमुख प्रतिपक्ष दल । राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारी र उपराष्ट्रपतीको निर्वाचनमा नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि छानिए । सभामुखमा कृष्ण बहादुर महरा तथा राष्ट्रिय सभा अध्यक्षमा गणेशप्रसाद तिमिल्सीना चयन भए ।


वर्ष २०७४ स्थानिय तह, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा मात्र नभएर राष्ट्रपती, उपराष्ट्रपती, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समिति, गाउँ तथा नगर कार्यपालिका लगायतकाको निर्वाचनकै पेरीफेरीमा सकियो । नेपालको इतिहासमा एकै वर्षमा यतिधेरै निर्वाचन भएको पहिलोपटक हो ।


विभिन्न तहका निर्वाचन मध्येमा निर्वाचनको रौनकता भने स्थानिय तह निर्वाचनमा बढी देखियो । लामो समयको अन्तरालमा भएको निर्वाचन अनि आ–आफ्नो ठाउँका उम्मेदवार बिचको प्रतिष्पर्धाले निर्वाचनको रौनकता घर–घर सम्म पुगेको थियो । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा देखिएको सहभागीताले समेत निर्वाचन प्रतिको जनताको आर्कषणलाई झल्कायो । आफुतर्फ आर्कषित गर्न उम्मेदवारले गरेका हर्कतलाई सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमले प्राथमिकताका साथ उठान गरिदिँदा भाइरल बने । लामो समयदेखि एकछत्र राज गरिरहेका केहि नेतालाई जनताले अस्विकार गरिदिए । जनताको माया र साथले नयाँ इतिहास रच्दै जित हासिल गर्नेहरु समेत उस्तै थिए । केहि नेताले जीतमा निरन्तरता दिँदै आफ्नो विरासत कायमनै राखे । विभिन्न तहका निर्वाचन मार्फत राजनीतिमा सक्रिय बनेका नेताका अलावा कलाकार, पत्रकार, व्यापारी, शिक्षक, विद्यार्थी, सरकारी कर्मचारीहरु पनि आफ्नो पेशा छाडेर निर्वाचनमा होमिए । कतिले बाजी मारे । केहि पराजित मात्र भएनन् वर्षौदेखिको आफ्नो साख पनि गिराए । उम्मेदवार को बन्ने भन्नेमा राजनीतिक दल भित्रनै भएका निर्वाचन समेत रोचक थिए ।