नाटक ‘जिउँदो आकाश’ मञ्चनको तयारी पुरा


राजाराम पौडेल,पोखरा – शनिबारबाट पोखरामा मञ्चन हुने नाटक ‘जिउँदो आकाश’ मञ्चनको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीका अनुसार वर्ष २०७५ मा लगातार नाटक मञ्चन गर्ने योजना अनुसार यो नाटक मञ्चन गरिन लागेको हो ।

पोखरा थिएटद्धारा सञ्चालित गन्र्धव नाटकघरमा मञ्चन हुने यो नाटक डाँफे थिएटरको प्रस्तुतीमा मञ्चन गर्न लागिएको हो ।
बैशाख १५ गतेसम्म हरेक दिन हुने पन्ध्र दिने नाटक मञ्चनलाई व्यवस्थित बनाउदै नयाँ दर्शकको आर्कषण रुपमा नाटकघरलाई स्थापित गर्ने तयारी थिएटरले गरेको कार्कीले जनाए ।

आरके मेहता रोसनको परिकल्पना र निर्देशनको यो नाटकलाई चन्द्रप्रसाद पाण्डेयले लेखेका हुन् । नाटकमा एकल कलाकारको रुपमा अनिल सुब्बाले अभिनय गर्नेछन् । एकल अभिनयमा दर्शकलाई आर्कषित गर्न उनले गरेको मेहनत नाटकमा हेर्न पाइनेछ । तेस्रोलिंगीको विषय समेटिएको यस नाटक हेरेर पोखरेली दर्शकले नाटकको नयाँ स्वाद चाख्न पाउनेछन् । झण्डै एक घण्टा लामो नाटकमा अनिलले तेस्रोलिंगीको बालापन देखि युवाअवस्थाको अभिनय मार्फत चित्रण गर्नेछन् ।

हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटक हेर्न सर्वसाधरणका लागि तीन सय र पाँच सय तथा विद्यार्थीका लागि एक सयको टिकट काट्नुपर्ने हुन्छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो हुनेछ ।
बैशाख १ शनिबारको पहिलो सो दिउँसो १ बजे प्रिमियर सो हुनेछ । पत्रकार तथा सञ्चारकर्मीहरुको उपस्थितीमा हुने यो सो पश्चात नाटकको बारेमा पत्रकारसँग कलाकार एवं थिएटर सञ्चालकको साक्षात्कार हुनेछ । पहिलो दिनको दोस्रो सो साँझ ५ बजे हुनेछ । यो नाटकको मञ्चन पश्चात पोखरा थिएटरको प्रस्तुतीमा मञ्चन हुने नाटक बितेका कुरा मञ्चन गरिनेछ । जसको लागि रिर्हसल सुरु भइसकेको छ ।