रामचन्द्र पौडेललाई समेत आफ्नो समूह सम्हाल्न सकस


काठमाण्डौ – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ ।

निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।

निर्वाचन हारका विषयमा पार्टीभित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढदो छ । १३ औं महाधिवेशनबाट पार्टीभित्र तेस्रो धारको नेतृत्व लिएर छुट्टै समूह खडा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत देउवाको कार्यशैलीबाट असन्तुष्ट बन्दै पौडेलसँग निकट भएका छन् ।

त्यसअघि यी दुई नेताको सम्बन्ध पानी बाराबारको थियो । सिटौलाकै शब्दमा देउवालाई सभापति बनाउनेदेखि दुई वर्षसम्म ‘ब्ल्यांक चेक’ दिएर सहयोग गर्ने काम भएको थियो । त्यसैलाई लिएर पौडेल सिटौलासँग आक्रोशित मात्रै थिएनन्, औपचारिक संवादसमेत टुटेको थियो ।

संघीय संसद्, प्रदेश र स्थानीय तहकै निर्वाचनमा पार्टीले हार बेहोरेपछि यी दुवै नेता एउटै निष्कर्षमा पुगे– ‘सभापति देउवाको यस्तै कार्यशैली र भूमिकाबाट अब पार्टी चल्न सक्दैन ।’

मुद्दामा एक भएपछि पौडेल र सिटौलालाई जोड्ने भूमिकामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि युवा नेताहरू गगन थापा, प्रदीप पौडेलसम्म जुटे । आधा दर्जनजति गोप्य बैठक बसेर यी दुई नेताबीचको सम्बन्धलाई जोड्ने काम भएको छ । नेतृत्वका सवालमा भने दुवैका आआफ्ना स्वार्थ र प्रतिस्पर्धा छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।